कांग्रेस सभापति देउवाले गरे कोरोना भाइरसप्रति सचेत रहन अपिल
फाइल तस्वीर ।

काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गरेका छन् ।

एक विज्ञप्तिमार्फत सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाई हुन नसक्दा कुनैपनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा उनले औंल्याएका छन् । साथै कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनुपर्ने सतर्कताबारे सबै गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन् । 

यसको जोखिम सामना गर्न सरकारलाई सम्पूर्ण साथ रहने घोषणा गरिसकेको स्मरण गराउँदै सभापति देउवाले युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सम्भावित जोखिम सामनाका लागि दक्षजनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औँल्याएका छन् । 

पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको र कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र सङ्क्रमण पूर्वको असर भोगिरहेको बताउँदै सभापति देउवाले समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी रहेको उल्लेख गरेका छन् ।

सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेष गरी गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई अत्यन्तै कष्टकर अवस्था बन्ने बताउँदै उनले त्यस्ता व्यक्तिका लागि राहतको योजना ल्याउन सरकारसँग माग गरेका छन् ।

विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्नेगरी जोखिमबाट विद्यार्थीलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदै उनले स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न अपिल गरेका छन् ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २२:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया