अब ११ र १२ कक्षामा वास्तु विषय पढाइने

काठमाडौं– पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । 

समितिमा डा. खिलानाथ बस्ताकोटी, उपप्रा पुरुषोत्तम भट्टराई र वासुदेवकृष्ण शास्त्री सदस्य रहेका छन् । नेपालमा प्राचीन गुरुकुलकालीन शिक्षा पद्धतिमा वास्तुको अध्यापन हुने गरे पनि शैक्षिक तहमा औपचारिकरुपमा आगामी शैक्षिक सत्र २०७७ देखि अध्यापन गर्ने तयारी स्वरुप पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । यसअघि नेपाल संस्कृत विश्वविद्यालयको शास्त्री र आचार्य तहमा सिद्धान्त तथा फलित ज्योतिष विषयमा ३० पूर्णांकसम्मको वास्तुसम्बन्धी अध्यापन हुन्थ्यो ।

पछिल्लो समय राजधानीलगायत मुख्य मुख्य सहरमा वास्तुलाई पछ्याउँदै घर, भवनलगायत संरचना बनाउने क्रम बढेको छ जसका कारण धेरै ज्योतिषीले वास्तुसमेत हेर्न थालेका थिए । यस क्षेत्रमा दक्ष जनशक्ति नभएका कारण विभिन्न समस्या आएको गुनासो बढेपछि औपचारिकरुपमा पाठ्यक्रम निर्माण भइरहेको सदस्य भट्टराईले बताए ।

संस्कृत मावि एवं वेद विद्याश्रमका लागि कक्षा ११ र १२ अध्यापन गराउने गरी संस्कृत भाषाको पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताए । पाठ्यक्रममा प्राचीन वास्तु, गृह, भवन, मन्दिर (प्रसाद) निर्माण, चिनियाँ वास्तु पद्धति फेङ सुईलगायत विषय वस्तु समावेश हुने जनाइएको छ ।

केन्द्रका सूचना अधिकारी गणेश भट्टराई आगामी साउनदेखि अध्यापन हुने गरी पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । संस्कृत र नेपाली दुवै भाषामा पाठ्यक्रम एवं पुस्तक प्रकाशन गरी अध्यापन गराउन चाहने संस्कृत तथा साधारण दुवै लागू गर्न सक्ने उनले बताए । प्राचीन निर्माण पद्धतिलाई पूर्णरुपमा लागू गरेमा बलियो संरचना बनाउन सकिने वास्तुशास्त्री शिवप्रसाद पोखरेल बताउँछन् ।

यस विषयमा बृहत्संहिता, विश्वकर्मा प्रकाशलगायत ग्रन्थमा चर्चा गरिएको उनले जानकारी दिए । माध्यमिक तहको कक्षा ११ र १२ का लागि सिद्धान्त र फलित ज्योतिषको पाठ्यक्रम गत वर्ष नै निर्माण भइसकेको छ । दुवै विषयको अध्यापन चालु शैक्षिक सत्रदेखि नै शुरु भइसकेको केन्द्रले जनाएको छ । 





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १५:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया