राजेन्द्र पराजुलीकाे काेटेश्वरकाे केटाे बजारमा

काठमाडाैं– आख्यानकारका रुपमा स्थापित राजेन्द्र पराजुलीको संस्मरण ‘कोटेश्वरको केटो’ बजारमा आएको छ । फिनिक्स बुक्सले प्रकाशन गरेको यो पुस्तकमा २५ वटा संस्मरण रहेका छन् । 

कोटेश्वर, अनुहारहरु, अनुभूति सुफियाना र अक्षरहरुसँग गरी चार भागमा बाँडिएको यो पुस्तकमा पराजुलीले पत्रकारिताको अनुभवका साथै आफ्नो बाल्यकाललाई समेत उनेका छन् । उनले सङ्गत गरेका केही पात्रका अतिरिक्त समसामयिक विषयको पनि उनले स्मरण गरेका छन् । 

काठमाडौंको पूर्वी भेग कोटेश्वरमा जन्मिएका उनले आजभन्दा साढे चार दशकअघिको कोटेश्वर, वाग्मती नदी, काठमाडौंको संस्कृति र काँठे जनजीवनको दृश्यात्मक कथा पस्केका छन् । त्यसैले यसलाई वैकल्पिक इतिहासका रुपमा समेत लिन सकिन्छ । 

जीवनका आरोह–अवरोह, सङ्घर्ष र सफलता–असफलतालाई कतै काव्यिक त कतै समाचारीय शैलीमा उनले लेखेका छन् । केही संस्मरण रिपोर्ताज शैलीमा पनि छन् । पत्रकारितमा उनले करिब तीन दशक बिताइसकेका छन् । नेपालको पत्रकारिता, यसले लिनुपर्ने बाटो, यसका बेथितिबारे आफ्ना अनुभवलाई पराजुलीले निडर बनेर उतारेका छन् । 

काठमाडौंमा जन्मँदैमा राज्यप्रदत्त सुविधा सबैका भागमा पुगेका हुँदैनन् । कोटेश्वरका कतिपय वासिन्दाले राज्यपीडा भोग्नुपरेको दृश्टान्त छ पुस्तकमा । कहिले त्रिभुवन विमानस्थल विस्तार त कहिले सडक निर्माणका नाममा उठिबास सहनुपरेको छ कोटेश्वरले । राज्य कसरी आफ्नो थातथलोप्रति कठोर बनेको छ भन्ने अनुभूतिले पञ्चायतकालको निरङ्कुश समयको सम्झना गराउँछ । अभाव, गरिबी, असुविधा र अव्यवस्थाका कारण कतिपय काँठ क्षेत्रका वासिन्दा राजधानीबाट पलायन भएको कथा पनि ‘कोटेश्वरको केटो’मा पढ्न पाइन्छ । 

पुस्तकमा ज्यादा ‘कन्फेसन’ रहेकाले पाठकले यसलाई रुचाउने प्रकाशन संस्था फिनिक्सको विश्वास रहेको छ । अहिलेको पुस्ता र काठमाडौंको विगतलाई बुझ्नका लागि पुस्तक सहयोगी हुने फिनिक्सले बताएको छ ।



लेखक पराजुलीको यो आठौं कृति हो । अघिल्लो वर्षको पूर्वाद्र्धमा उनको कथासङ्ग्रह ‘अघोरी’ बजारमा आएको थियो । लेखक पराजुलीका अनुसार उनले २०६० सालको पूर्वाद्र्धदेखि संस्मरण लेख्न थालेको र यो पुस्तकमा डेढ दशकको अवधिमा लेखिएका स्मृति समावेश छन् । 

२०७ पृष्ठको यो पुस्तकको मूल्य रु ३५० तोकिएको छ ।



  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १०:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया