इलाममा बढ्दाे आत्महत्या: पत्नीकाे हत्या गरेर आत्महत्या !

इलाम- फाकफोकथुम गाउँपालिकामा केही दिनअघि हत्या गरिएको अवस्थामा भेटिएको दम्पतीको शव अनुसन्धानक्रममा प्रहरी पतिले पत्नीको हत्या गरी आत्महत्या गरेको आशंकामा पुगेको छ। खुकुरी प्रहारबाट पत्नीको हत्या गरी त्यही खुकुरीले आफ्नो घाँटी रेटेर पतिले आत्महत्या गरेको हुन सक्ने शव र घटनास्थल अनुसन्धानले देखाएको हो।

गत फागुन २८ मा फाकफोकथुम गाउँपालिका–५, लुम्देको कैंजलेका ३३ वर्षे धनबहादुर खपांगी र उनकै पत्नी ३५ वर्षीया रीताको शव आफ्नै घरको सिकुवामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार घटना भएको साँझ ४ बजे प्रहरी घटनास्थल पुग्दा दम्पतीको शव रगतमा डुबेको अवस्थामा सिकुवामा थियो। घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले घटनास्थल र शवको प्रकृति हेर्दा पतिले पत्नीको हत्या गरी आफूले हत्या गरेजस्तो देखिएको बताए।

‘खुकुरीको दाप धनबहादुरको कम्मरमा भिरिएको छ। पत्नीको गर्धनमा खुकुरीले हानिएको छ। पतिको घाँटीमा तलपट्टिबाट ३ पटक रेटिएको घाउ देखिन्छ,’ उनले घटनास्थलको अवस्था बताए, ‘भुइँमा फ्याँकिएको रगताम्य खुकुरी धनबहादुरको हातमै नभएपनि केहीबेरअघि उनले नै दायाँ हातले समातेकोजस्तो अवस्थामा छ।’ डिएसपी क्षेत्रीले धनबहादुरको घाँटीमा बायाँबाट दायाँतिर रेटिएको घाउ भएको, पत्नीको टाउको पतितिर र पतिको टाउको पत्नीतिर लडेको अवस्थामा भएपनि खुट्टा भने विपरीत दिशातिर पाइएको उनले जनाए।

घटना भएको दिन बिहानै लिपपोत गरेको सिकुवाको भुइँ सफा रहेको र अन्य व्यक्ति घरमा प्रवेश गरेजस्तो नदेखिएको पनि प्रहरीले जनाएको छ। ‘दुवै जनाले लगाएको कपडा सुरक्षित छ, कतै च्यातिएको छैन,’ उनले भने, ‘धनबहादुरमा केही समयदेखि डिप्रेसनको समस्या देखिएको पनि थाहा भयो।’ प्रहरीका अनुसार घटनाको दिन बिहान घरमा भात पकाइएको थिएन। स्कुल गएका छोरा–छोरीले मध्याह्न १२ बजे घर आउँदा बुबा–आमाको शव देखेपछि गाउँमा खबर पु¥याएका थिए।

दुवैको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान पठाएर घरभित्र खोजी गर्दा प्रहरीले ‘धनबहादुरले लेखेको’ नोट फेला पारेको छ। ‘छोरा–छोरीलाई सम्बोधन गरिएको नोटमा धनबहादुरले मैले तिमीहरूलाई केही दिन सकिनँ, राम्रोसँग गरिखानू भन्नेजस्ता वाक्य लेखिएको छ,’ डिएसपी क्षेत्रीले भने, ‘तर, त्यो नोट धनबहादुरले नै लेखेको हो कि होइन भन्ने चाहिँ निश्चित भएको छैन, अनुसन्धान हुँदैछ।’ धनबहादुर यसअघि २ पटकसम्म वैदेशिक रोजगारीमा गएर घर फर्केका थिए। ‘उनीहरूको परिवारको आर्थिक अवस्था पनि धेरै निम्न देखिँदैन,’ जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले भने। धनबहादुर र रीताका १३ र १४ वर्षका २ छोरा तथा ९ वर्षकी छोरी छन्।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १९:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया