विश्व अहिले गत डिसेम्बरमा पहिलो पटक चीनको वुहान सहरमा देखिएको कोरोना भाइरसविरुद्ध लडिरहेको छ । विश्वका झन्डै सबै देशमा देखिएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
पछिल्ला दिनमा चीनमा धेरै नियन्त्रणमा आएको कोरोना भाइरसले युरोप र अमेरिकामा तहल्का मच्चाइरहेको छ । यता, हाम्रो छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण बढ्दो देखिएको छ ।
त्यस्तै, सार्क मुलुकमध्ये पाकिस्तानमा पनि कोरोना संक्रमितको संख्या निकै बढ्दो छ ।
अनि विश्वका विभिन्न देशमा ती देशका कलाकारहरुले कोरोना भाइरस नियन्त्रणका लागि धेरै किसिमका अपिलहरु गरिरहेका छन् । चेतना फैलाउनका लागि उनीहरुले विभिन्न सामाजिक सन्जालमार्फत् विभिन्न अभिव्यक्ति दिइरहेका छन्, जनचासोका विषयमा लेखिरहेका छन् ।
हलिउडका हुन् या बलिउडका कलाकारका सामाजिक सन्जाललाई फलो गर्ने हो भने पछिल्लो समय उनीहरुले व्यापक रुपमा कोरोनाबारे लेखिरहेका छन् ।
नेपाली कलाकारहरुले चाहिँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा के लेखिरहेका छन् त ? हामीले केही कलाकारहरुको सामाजिक सन्जाल चियो गरेका छौँ ।
इन्स्टाग्राम अकाउन्टमा ८ लाख ३ हजार फलोअर्स भएकी पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । देशमा भइरहेका समसामयिक विषय तथा घटनाहरुबारे निरन्तर अपडेटमा रहने उनी कोरोना भाइरसबारे पनि समाचार सेयर गरिरहेकी छिन् । इन्स्टामा श्रृङ्खलाले प्रतिबन्धित क्षेत्रहरु, बैंकबाट आएको सुरक्षा सम्बन्धि मेसेजसमेत सेयर गरेकी छिन् । उनले कोरोनाको लक्षण र बच्ने उपायबारे नेपाल टेलिकमले पिरआरबिटी सेवा सुचारु गरेकोमा धन्यवाद समेत व्यक्त गरेकी छिन् ।
इन्स्टाग्राममा धेरै एक्टिभ हुने अर्की अभिनेत्री हुन्, प्रियंका कार्की । उनी पनि कोरोना भाइरसबारे समाचार सेयर गर्नमा अगाडि नै छिन् । चीनमा भाइरस संक्रमणको नयाँ केस फेला नपरेकोमा उनले खुशी व्यक्त गर्दै स्टोरी राखेकी छिन् । प्रियंकाले हात धुनु, भीडभाडबाट टाढा रहनु, रोगसँग लड्ने क्षमता बढाउनु, बिरामीले मात्र मास्क लगाउँदा हुन्छ, हात नमिलाउनु र अफवाह बाट टाढा बस्नु भन्ने सन्देश दिएकी छिन् । उनले कर्मचारीहरुलाई सफा वातावरणमा बसेर काम गर्न तथा काम लगाउन पनि अनुरोध गरेकी छिन् ।
नेपाल आईडलको जज भएपछि थप चर्चित बनेकी गायिका इन्दिरा जोशीले पनि इन्स्टाग्राममा कोरोना भाइरसबारे सेयर गरिरहेकी छिन् । उनले त सबै नेपालीलाई घरकै खाना खानसमेत सल्लाह दिएकी छिन् । भाइरस संक्रमणको बेला बाहिर नजाने र घरमा आफैले बनाएको स्वस्थ खाना खान इन्दिराले सबैलाई अनुरोध गरेकी छिन् । यो सँगै उनले ‘कोरोना इफेक्ट इम्प्टी स्ट्रिट’ लेखेर एक तस्विर सेयर गरेकी छिन् ।
मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अनुष्काले घरमा क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु इन्स्टा स्टोरीमा राखेकी छिन् । त्यस्तै प्रतिबन्धित क्षेत्रहरुबारे पनि उनले आफ्नो सोसल मिडियामा सेयर गरेकी छिन् । अनुष्काले ह्यान्ड स्यानिटाइजर प्रयोग गरिरहेको आफ्नो फोटो समेत इन्स्टा स्टोरीमा राखेकी छिन् ।
पछिल्लो समय फिल्म निर्माणमा हात हालेकी अभिनेत्री केकी अधिकारीले ‘क्वारेन्टाइन मुड अन’ लेख्दै आफ्नो इन्स्टामा स्टोरी राखेकी छिन् । उता, एक समयकी चर्चित नायिका रेखा थापाले कोरोनाबाट बच्न के गर्ने भन्ने जानकारीमुलक भिडियो ट्विटरमा पोस्ट गरेकी छिन् ।
मोडल तथा नायिका स्वस्तिमा खड्काले इन्स्टाग्राम स्टोरी मार्फत आफू सेल्फ क्वारेन्टाईनमा बसेको जानकारी गराएकी छिन् ।
‘स्टे इनसाइड, स्टे सेफ’ लेखेको भिडियोमा स्वस्तिमा श्रीमान् निश्चल बस्नेतसँग घरमा रमाइरहेकी देखिएकी छिन् । स्वस्तिमाले क्वारेन्टाइन क्विन लेखेको भिडियोमा भने उनी निश्चलसँग मस्ती मुडमा देखिएकी छिन् । उनले विभिन्न सन्चारमाध्यममा आएका समाचार सेयर गरेर पनि आफ्नो अभिव्यक्ति दिएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।