मुक्तिनाथ र कागबेनी अनिश्चितकालका लागि बन्द

मुस्ताङ– हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । 

अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्धस्थल प्रवेशमा रोक लगाइएको मुस्ताङका प्रजिअ तथा मुक्तिनाथ विकास समितिको अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिए । मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने नेपाली र भारतीय पर्यटकको संख्यामा कमी नआउँदा कोभिड–१९ को जोखिम बढ्ने देखिएकाले सर्वपक्षीय बैठकले मंगलबारदेखि अनिश्चितकालका लागि उक्त धार्मिकस्थलमा धार्मिक पर्यटक आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

‘२५ जनाभन्दा बढीको समूहमा नहिँड्ने भनेर सरकारले नै निर्देशन दिएको छ, तर हामी अनुगमनमा जाँदा कागबेनी घाट, मुक्तिनाथ मन्दिर र बौद्ध गुम्बामा भिडभाड देख्यौँ,’ उनले भने, ‘मुक्तिनाथ मन्दिर र कागबेनी घाटमा भारतीय तीर्थालुको उपस्थिति बाक्लो थियो । यही कारण बन्द गर्नुपरेको हो,’ प्रजिअ अर्यालले बताए ।

मुस्ताङमा धेरै देशका पर्यटक जाने भएका कारण संक्रमित व्यक्ति छिर्न सक्ने भएकाले कोरोनाको सन्त्रास कायम रहने बेलासम्म धार्मिकस्थल बन्द रहने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।





  • प्रकाशित मिति : चैत १०, २०७६ साेमबार १४:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया