कास्की– के तपाईं कोरोना भाइरसको संक्रमण भयो कि भन्ने आशंकामा हुनुहुन्छ । यदि त्यस्तो छ भने तत्कालै अस्पतालको खोजीमा भौँतारिनु पर्दैन । घरमा नै बसेर ०६१–५२४०७४ मा फोन गर्नुहोस्, त्यहाँ तपाईंको स्वास्थ्य समस्या बुझेर आवश्यक परामर्श दिने चिकित्सकहरु बसिरहेका छन् । चिकित्सकको परामर्शपछि मात्रै तत्काल अस्पताल जानुपर्ने वा घरमा नै बसेर आराम गर्दा हुने हो, एउटा निर्णयमा पुग्नुहोस् ।
संक्रमणका कारण विश्वलाई नै त्रसित बनाइरहेका अवस्थामा सर्वसाधारणलाई स्वास्थ्य समस्यामा परामर्श दिनका लागि गण्डकी प्रदेशमा आइतबारदेखि ‘हेलो डक्टर कक्ष’ सञ्चालनमा ल्याइएको छ । प्रत्येक दिन बिहान ८ देखि दिउँसो ५ बजेसम्म दुईजना चिकित्सकसहित उक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । कक्ष सञ्चालनसँगै ठाउँ–ठाउँबाट सर्वसाधारणले सोधपुछ गरी चिकित्सकीय परामर्श लिइरहेको उनले बताए ।
संक्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा एक सय ११ आइसोलेसन शय्या तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ ।
त्यस्तै, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० शय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशक शर्माले जानकारी दिए । त्यस्तै, स्याङ्जा जिल्ला अस्पतालमा चार, पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरी अञ्चल अस्पताल बागलुङमा चार शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ ।
निर्देशनालयअन्तर्गत प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्षमार्फत सेवा प्रवाह भइरहेको उनले जानकारी दिए । पिपिई, सानिटाइजर, मास्क, गन थर्मोमिटरलगायत सामान पर्याप्त नहुँदा भने ती स्वास्थ्य सहायता कक्षलाई अपेक्षित प्रभावकारी बनाउन नसकिएको उनले बताए ।
स्वास्थ्यप्रतिको सजगताका लागि सर्वसाधारण अस्पतालमा आउने क्रम भने बढिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।