स्वास्थ्यमन्त्रीका दुई ब्लन्डरः घरमा पाहुना र मन्त्रालयमा अनावश्यक भीड !
साेमबार मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनकाे एक दृश्य ।

काठमाडौं– सोमबार एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरस संक्रमणको चपेटमा पर्ने हो कि भन्ने आशंका झन् बढेको छ । यही कारणले पनि हुनुपर्छ, सोमबार साँझ नै नेपाल सरकारले आज अर्थात् मंगलबारदेखि देश पूर्ण रुपमा लकडाउनमा गएको निर्णय गरेको छ । अब आज विहान ६ बजेबाट अत्यावश्यक सवारीसाधन र कार्यालयहरुबाहेक अरु केही खुल्ने छैनन् । 

सोमबार विहान देशका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अचानक पत्रकार सम्मेलन बोलाएका थिए । 

यो पत्रकार सम्मेलनको विषयमा केही बेरमा फेरि आऔँला । त्यसभन्दा पहिले केही दिनअघि स्वास्थ्यमन्त्री ढकालको एउटा भिडियो क्लिप भाइरल भएको थियो, सामाजिक सन्जालमा । त्यसको चर्चा गरौँ ।

भिडियोमा देखिएअनुसार स्वास्थ्यमन्त्री आफ्नो कार्यकक्षबाट निस्किएर गाडी चढ्न जाँदै थिए । उनलाई पत्रकारले बीचमा रोकेर केही सोध्न खोजेको देखिन्छ । तर, स्वास्थ्यमन्त्रीले जवाफ दिन्छन्–  घरमा पाहुना छन् । 

पत्रकारले उनलाई फेरि अनुरोध गर्छन्– केही त बोलिदिनुस् न ।

उनको जवाफ हुन्छ– बोल्दिनँ भनेपछि बोल्दिनँ ।



स्वभाविक हो, यो भिडियो हेर्दा लाग्छ, पत्रकारले स्वास्थ्यमन्त्रीसँग समय नलिई उनका कुरा लिन पुगेका थिए होलान् । तर, विश्वभर त्रासको वातावरण सिर्जना गरेको र नेपालमा पनि राम्रो परीक्षण भएकाले नदेखिएको हो है कोरोना भनिरहेको समयमा सूचना आम जनतासँग पुर्याउन पहल गर्नु र त्यसका लागि सहज हुनु स्वास्थ्यमन्त्रीका नाताले ढकालको दायित्व थियो । 

यो यस्तो समय हो, जतिबेला सम्पूर्ण नेपाली निकै ठूलो त्रासमा बाँचेका छन् । इटाली, स्पेन, चीन, दक्षिण कोरिया, अमेरिका जस्ता विकसित र राम्रो स्वास्थ्य सिस्टम भएका देश पनि कोरोना भाइरसको महामारीका कारण त्रसित छन् । तर, स्वास्थ्य सिस्टम अत्यन्त कमजोर भएको नेपाल जस्तो देशमा जनतालाई आश्वस्त बनाउनु सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्यमन्त्रीको हुन्थ्यो । उनले यसलाई ख्याल नै गरेनन्, उल्टो घरमा आएका उनका पाहुनालाई पहिलो प्राथमिकतामा राखिदिए । उनको प्राथमिकतामा त जनताको जिज्ञासा हुनुपथ्र्यो, जनताको स्वास्थ्य हुनुपथ्र्यो ।



अब लागौँ, सोमबार स्वास्थ्य मन्त्रालयमा नै भएको पत्रकार सम्मेलनतर्फ । 

नेपाल सरकारले आजभन्दा पाँच दिन अघि नै एउटा नियम लागु गरेको छ, कोरोना संक्रमणलाई रोक्नका लागि । त्यो हो– एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने । 

अब सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरिएपछि त्यहाँ जम्मा २५ जना भेला हुने कुरै भएन, किनकि मन्त्रालयबाट नै यसभन्दा बढी पत्रकारलाई निम्तो पुगेको थियो । अनि स्वास्थ्यमन्त्री र उनको टिम नै त्यहाँ एक दर्जनको हाराहारीमा थिए । यस्तो अवस्थामा स्वास्थ्यमन्त्री स्वयंले आफ्नै सरकारले लगाएको नियमलाई उल्लंघन गरेको निश्चित भयो ।

हो, प्रश्न उठ्छ– स्वास्थ्यमन्त्रीले आवश्यक जानकारी दिनलाई पत्रकार सम्मेलन नगर्ने त ?

गर्ने । खासमा त अहिले स्वास्थ्यमन्त्रीले प्रत्येक दिन पत्रकार सम्मेलन गर्नु पर्ने हो, प्रत्येक दिन ब्रिफिङ गर्नु पर्ने हो, ताजा अवस्थाबारे । बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनले प्रत्येक दिन ब्रिफिङ गरिरहेका छन्, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्येक दिन ब्रिफिङ गरिरहेका छन्, आफैं क्वारेन्टाइनमा नजाँदासम्म जर्मनीकी चान्सलर एन्जेला मर्केलले प्रत्येक दिन मिडियालाई सरकारले गरिरहेको कदमबारे जानकारी गराएकी थिइन् । 

भलै, हाम्रा स्वास्थ्यमन्त्रीले प्रत्येक दिन अपडेट दिन जरुरी ठानेनन् होला । तर, सोमबार उनले आयोजना गरेको पत्रकार सम्मेलनलाई चाहिँ व्यवस्थित गर्न पक्कै सक्ने थिए । किनकि आइतबार मात्र प्रधानमन्त्री निवास बालुवाटारमा जाँदा उनले मास्क प्रयोग गरेका थिए, फुट कभर लगाएका थिए । 

अनि २४ घन्टा पनि नबित्दै उनले पत्रकार सम्मेलनमा मास्क लगाउनु पर्छ भन्ने मात्र सम्झिएनन्, भीडमभीडमा पत्रकार सम्मेलन गर्दा पनि केही हुँदैन भनेर आफ्नो अज्ञानता देखाए । त्यसो त उनको हेलचक्र्याइँ हुनुपर्छ, उनले मास्क नलगाएका मात्र होइनन्, ठूलो भीडमा आफ्ना कुरा राख्न चाहे । 

प्रश्न उठ्छ, के उनले पत्रकार सम्मेलन गर्नु हुँदैनथ्यो, जानकारी दिन हुँदैनथ्यो ?

अवश्य पनि उनले पत्रकार सम्मेलन गर्नै पथ्र्यो, जानकारी बाहिर दिनै पथ्र्यो । तर, अहिलेको समयमा त्यसका लागि अरु अनेक उपाय थिए । उनी फेसबुक लाइभमा आउन सक्थे, ट्विटर लाइभमा आउन सक्थे र यो जानकारी दिन पनि सक्थे । मन्त्रालयको फेसबुक पेज वा उनको आफ्नै फेसबुक त्यसका लागि प्रयोग हुनसक्थ्यो, ट्विटरमा उनले यही काम गर्न सक्थे वा युट्युबलाई प्रयोगमा ल्याउन सक्थे । 

हो, जसरी पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रश्न गरेका थिए, ती प्रश्न न्यु मिडिया अर्थात् सामाजिक सन्जालमा पनि आउन सक्थे, ती प्रश्नहरुको जवाफ उनले सामाजिक सन्जालबाट पनि त दिन सक्थे !

तर, मन्त्री ढकाल सायद ब्लन्डरहरुका लागि अभ्यस्त हुन खोजिरहेका छन्, केयरलेस मन्त्रीको सूचीमा आफ्नो नाम दर्ज गर्न खोजिरहेका छन् !

  • प्रकाशित मिति : चैत ११, २०७६ मंगलबार २:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया