कोरोना भाइरसः पाकिस्तानमा क्वारेन्टाइनबारे हंगामा, व्यापक तोडफोड

एजेन्सी– पछिल्लो समय एशियाका देशहरुमा पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या निकै बढिरहेको छ । 

र, त्यहाँका क्वारेन्टाइनहरुमा व्यापक विरोध भएको छ । कतिपय ठाउँका क्वारेन्टाइनमा तोडफोड गरिएका समाचार पनि आउन थालेका छन् । 

उता, लाहोरको उच्च अदालतले बहावलपुरमा इरानबाट फर्किएका तीर्थयात्रीलाई क्वारेन्टाइनमा राख्न बनाउन लागिएको भवनको काम अहिलेलाई रोक्न आदेश दिएको छ । इरानबाट फर्किएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिएपछि उनीहरुको घर जान दिइएको छ ।

उनीहरुलाई फेरि आआफ्नो प्रान्तमा एकपटक क्वारेन्टाइनमा राख्न खोजिरएको थियो । यसका लागि त्यहाँका प्रान्त सरकारहरुले क्वारेन्टाइन केन्द्र बनाउन लागेका थिए । तर, यसको विरोधमा त्यहाँको अदालतमा मुद्दा परेको थियो । यही विषयमा परेको मुद्दामा अदालतले नयाँ क्वारेन्टाइन बनाउने काम तत्कालका लागि स्थगित गर्न आदेश दिएको हो ।

पाकिस्तानको पन्जाबले बहावलपुर र डिजि खान तथा मुल्तान सिटी क्षेत्रमा क्वारेन्टाइन केन्द्र बनाएको थियो । 

त्यहाँ ७७७ जना तीर्थयात्रीलाई क्वारेन्टाइनमा राखिएको थियो । यसको त्यहाँका नागरिकले व्यापक विरोध गरेका छन् ।



१५ मार्चमा त्यहाँका एक प्रयोगकर्ताले सामाजिक सन्जाल फेसबुकमा एउटा भिडियो राखेर आफूहरुमाथि सरकारले गलत काम गरेको आरोप लगाएका छन् । उनले आफूले गुहार कोसँग माग्ने भन्दै प्रश्न गरेका छन् ।



त्यहाँका वासिन्दाले सरकारले सहरमा नै क्वारेन्टाइन केन्द्र बनाएको र यसका कारण कोरोना भाइरस पूरै सहरमा फैलिन सक्ने भन्दै विरोध गरेका हुन् ।  

एउटा इस्लामिया विश्वविद्यालयको अगाडि बनाइएको क्वारेन्टाइनका कारण विश्वविद्यालयका प्रोफेसर, उनीहरुको परिवार पूरै समस्यामा पर्न सक्ने पनि देखिएको उनीहरुले आरोप लगाएका छन् ।

उता, पन्जाबबाहेकका अन्य प्रान्तमा पनि मानिसहरु भएको ठाउँमा नै क्वारेन्टाइन बनाइएको भन्दै व्यापक विरोध गरिएको छ । सामाजिक सन्जालमा आएका कतिपय तस्वीरहरुमा क्वारेन्टाइन केन्द्रहरु तोडफोड भएको पनि देख्न सकिन्छ ।

विरोध गर्नेहरुले क्वारेन्टाइन केन्द्र मानिसहरुको बस्ती नभएको ठाउँमा बनाउन माग गर्दै विरोध गरेका छन् ।  

  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार ११:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया