सेनाले तयार पार्‍याे सात हजार क्वारेन्टाइन

काठमाडाैं— नेपाली सेनाले कोरोना संक्रमण (कोभिड–१९) फैलिए संक्रमितलाई उपचार तथा निगरानीमा राख्न सबै आठवटै पृतनामा गरेर सात हजारभन्दा बढी क्वारेन्टाइन तयार पारेको छ ।

नेपाली सेनाको मुख्यालयका अनुसार उपत्यका पृतना नारायणहिटी तथा देशभरका सातवटै पृतनामा संक्रमितलाई निगरानीमा राख्न सात हजार दुई सय ३४ क्षमताको क्वारेन्टाइन तयार पारिएको हो । त्यस्तै, कोरोना संक्रमण पुष्टि भएकाहरूको उपचारका लागि एक हजार १० बेड क्षमताको आइसोलेसन वार्ड पनि तयारी अवस्थामा रहेको सेनाले जनाएको छ ।

सेनाले संक्रमण फैलिएको अवस्थामा उपचारमा खटिने गरी एक सय ९६ जना चिकित्सकसमेत तयारी अवस्थामा रहेको जनाएको छ । उपचारमा खटिने चिकित्सक र उनीहरूको सपोर्टमा खटिने टोलीलाई सेनाले एक हप्ताको तालिमसमेत दिइसकेको छ । सो उपचार टोली अहिले आठवटै पृतना मुख्यालयमा पुगिसकेको सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन गत सोमबारदेखि एक साताका लागि देशभर लकडाउन घोषणा गरेको छ । सरकारको लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न सेनाले सीमानाका तथा मानिसको भिडभाड हुने क्षेत्रमा पेट्रोलिङ तथा गस्तीसमेत बढाएको जनाएको छ ।

एप सञ्चालनमा ल्याउने तयारी
नेपाली सेनाले कोरोना संक्रमण फैलिएको अवस्थामा उपचार तथा उद्धार प्रभावकारी बनाउन मोबाइल एप तयार गरेको जनाएको छ । सेनाले तयार पारेको मोबाइल एपमार्फत संक्रमितको संख्या, संक्रमितको अवस्था तथा उद्धार र उपचारमा खटिने टोलीबीच सूचना आदान–प्रदान गर्न सहज हुने सेनाले जनाएको छ ।

प्रवक्ता पाण्डेले एपमार्फत नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायत संक्रमितको उपचार तथा उद्धारमा खटिनेहरूबीच सूचना आदान–प्रदान सहज तथा प्रभावकारी हुने बताए । सेनाले तयार पारेको एप अहिले आन्तरिक रूपमा परीक्षण भइरहेको र आवश्यक परे जुनसुकै वेला प्रयोगमा ल्याउन सकिने जनाएको छ ।





  • प्रकाशित मिति : चैत १३, २०७६ बिहीबार १६:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया