काठमाडौं– अध्ययनका लागि विदेश गएका र विदेश जाने प्रक्रियामा रहेका विद्यार्थीहरुलाई नआत्तिन हब इन्टरनेसनल एजुकेनका प्रबन्ध निर्देशक तथा नायरका महासचिव उद्धवबहादुर खड्काले अनुरोध गरेका छन् । साथसाथै उनले यो क्षेत्रका व्यवसायीहरुलाई पनि यो विषम परिस्थितिमा नआत्तिन र धैर्यताका साथ कोरोनाविरुद्धको लडाइँमा लाग्न अनुरोध गरेका छन् ।
‘विश्वव्यापी महामारीको स्वरुप लिएको कोरोनाको जोखिम नेपालमा पनि उत्तिकै छ,’ फरकधारसँगको सम्पर्कमा आएका खड्काले भने, ‘यो अवस्थामा म सम्पूर्ण व्यवसायी साथीहरुलाई एक साथ भएर अगाडि बढ्न अनुरोध गर्छु । हामीले कोरोना महामारीको अन्त्य भएसँगै अगाडि बढेर नयाँ दिशामा थप जिम्मेवार भएर सम्पूर्ण व्यवसायको हकहितका लागि काम गर्नु पर्छ भन्न चाहन्छु ।’
यतिमात्र होइन, विदेशमा अध्ययनमा गएका सम्पूर्ण विद्यार्थीहरुबारे आफूले चासो दिइरहेको, सम्बन्धित कलेज र विश्वविद्यालयहरुसँग लगातार सम्पर्कमा रहेको र विदेशमा रहेका विद्यार्थीहरुको भलोका लागि विश्वविद्यालय तथा कलेजहरुलाई अनुरोध गरिरहेको पनि उनले बताएका छन् ।
‘यहाँ प्रोसेसिङ गरेर भिसा लागिसकेका विद्यार्थीहरु केहीको विभिन्न देशको इन्ट्री अवधि सकिएको हुनसक्छ, विद्यार्थीहरुले समयमा भिसा प्रोसेस गर्न नपाएका हुनसक्छन्, र अन्य समस्या भएका,’ खड्काले भने, ‘यस्ता विषयमा हामीले इमेलमार्फत् दूतावासहरुसँग सम्पर्क गरिरहेका छौँ । विद्यार्थीहरुले अहिलेको परिस्थितिमा नआत्तिन अनुरोध गर्छु ।’
साथै, उनले अहिले सम्पूर्ण विद्यार्थीहरुले आफू र आफ्नो परिवारलाई घरमै राखेर कोरोनाविरुद्धको लडाइँमा साथ दिन पनि अनुरोध गरेका छन् । ‘बारम्बार साबुन पानीले हात धुने, क्वारेन्टाइनमा बस्ने, सरकारले भनेका कुराहरु मान्ने,’ उनले भने, ‘आफू र घरपरिवारलाई ख्याल गर्ने समय अहिले हो, अध्ययनबारे हामी सबै सँगै छौँ, पछि एकसाथ अगाडि बढौँला ।’
खड्काले नायर, इक्यान, आइरिन, फेकन तथा एकालगायतका संस्थाहरु सहकार्य गरेर विद्यार्थीहरुको भलोबारे काम गरिरहेको पनि जानकारी दिए । विद्यार्थीहरुलाई विदेशमा र अहिले जनवरी इनटेकका विद्यार्थीलाई विशेष प्रावधान ल्याउन विश्वविद्यालय तथा कलेजहरुका लागि हब इन्टरनेसनलमार्फत् र संस्थागत हिसाबमा पनि आफूले काम गरिरहेको खड्काले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।