ललितपुरमा बन्याे १६५ शैय्याकाे आइसाेलेसन, छैन पिपिई
साङ्केतिक तस्वीर

ललितपुरमा कोरोना संक्रमण रोकथामको पूर्वतयारीस्वरूप एक सय ६५ शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको छ । 

पाटन अस्पताल ६ शय्याको आइसोलेसन, पाटनमै कोरोना संक्रमित उपचार गर्न १५ शय्या, पाटनमै २० शय्याको आइसियू, गणेशमासिंह अस्पताल ५५ शय्या आइसाेलेसन र आइसियू ५ शय्या, स्टार हस्पिटल ५ शय्या आइसोलेसन, सुमेरो १० शय्याको आइसोलेसन, किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ६० शय्या आइसोलेसन, किष्टमै २२ शय्याको आइसियू तयार पारिएको हो । त्यसैगरी बज्रबाराही चापागाउँ अस्पतालले १० शय्याको आइसोलसन र अन्य अस्पताल गरी १६५ शय्याको आइसोलेसन तयार अवस्था छन् ।

तर, कोरोनको सम्भावित संक्रमितलाई परीक्षण गर्दा  लाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) पाटनबाहेकका अन्य अस्पतालमा अभाव छ । पाटन अस्पतालले आफ्नै लागि विगत एक हप्तादेखि पिपिई उत्पादन थालेको छ । बज्रबाराही चापागाउँ अस्पतालमा पनि सीमित पिपिई रहेको छ । 

विश्वभर कोरोनाको संक्रमण फैलिएसँगै पिपिई अभाव भएको हो । नेपालमा पिपिई निर्माण नहुने र विदेशबाट मगाउँदासमेत नपाएकाले अभाव हुन थालेको चिकित्सकहरु बताउँछन् । स्वास्थ्य कार्यालय ललितपुरले भने केही दिनमा पिपिई उपलब्ध हुने जनाएको छ ।  

‘ललितपुरका विभिन्न अस्पतालका तयारी अवस्थामा करिब एक सय ६५ बेडको आइसोलेसन र ४५ शय्या आइसियू छ । तर, हामीले पर्याप्त मात्रामा पिपिई उपल्बध गराउन सकिएको छैन,’ स्वास्थ्य कार्यालय ललितपुरले प्रमुख डाक्टर खगेश्वर गेलालले भने, ‘परीक्षण गर्न जोखिम छ । हामीले पिपिई उपलब्ध गराउन प्रयास जारी राखेका छौँ । सम्भवतः पर्सिसम्म पिपिई उपलब्ध हुनेछ ।’

त्यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले काेरोनो संक्रमण रोकथाम गर्न पूर्वतयारी तीव्र गतिमा भएको बताए । ‘कोरोना संक्रमणको रोकथाम पूर्वतयारी तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘संंघीय सरकारको योजनाअनुरूप ललितपुरमा पाँच हजार शय्याको क्वारेन्टाइन तयार हुँदै छन् ।’



विदेशबाट आएकाहरूलाई ट्रयाक गर्दै स्थानीय सरकार
ललितपुरका स्थानीय तह कोरोना संक्रमणको रोकथाममा जुटेका छन् । स्थानीय तहहरूले सूचना प्रकाशन गरी विदेशबाट आएका नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । त्यस्तै, प्रत्येक स्थानीय तहले ती नागरिकको विवरण संकलन गरिरहेका छन् । 

महांकाल गाउँपालिकाले प्रत्येक वडामा र गोदावरी नगरपालिकाले वडा नम्बर– ५ मा १५ शय्याको क्वारेन्टाइनको व्यवस्था गरेका छन् ।



  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार २१:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया