कोरोना कहरः ९० वर्षकी काजोदी निस्किइन् ४०० किमीको पैदल यात्रामा

काजोदीले आफ्नो यात्रा सुरु गरेको अब तीन घन्टा भएको छ । अब प्रत्येक पाइलामा उनले लठ्ठीलाई दह्रो बनाएर टेक्नु पर्छ, पाखुरालाई बलियो बनाउनु पर्छ ।

जे गरेर होस्, उनले हिँड्न छोड्नु हुँदैन ।

उनी कति वर्षकी भइन् ? यो उनी आफैंलाई पनि थाहा छैन । तर, उनका आफन्तहरु भन्छन्– उनी ९० वर्षभन्दा बढी भइन् । 

त्यही परिवारको एउटा समूहसँग काजोदीले यो यात्रा तय गरेकी हुन् । अनि परिवारका सबैजना उनीभन्दा निकै अगाडि पुगिसकेका छन् । 

काजोदीको परिवार अहिले भारतको नयाँ दिल्लीको नोयडा सेक्टर १५ मा बस्छ । अनि परिवारका सबैले त्यहाँ ट्राफिकमा रोकिने गाडीमा खेलौनाहरु बेच्छन् । 

अब यो परिवारले यात्रा तय गरेको छ– ४ सय किलोमिटर टाढाको । राजस्थानको सवाइ मधुपुर भन्ने गाउँमा उनीहरु फर्किँदै छन् । 



अनि अहिले भारत छ, पूरै लकडाउनमा ।

त्यसैले उनीहरुले पूरै यात्रा पैदल गर्ने महत्वकांक्षा बनाएका छन् र निस्किएका छन् बाटोमा ।



अब काजोदीले आफ्नो अनुहार उठाउँछिन् अनि सोध्छिन्– अब पारी चोक कति टाढा छ ?

उनलाई उनकै समूहका एक पुरुषले जवाफ दिन्छन्– होला त्यस्तै २० किलोमिटर । विहान पैदल यात्रा सुरु गरेकी काजोदीले अहिलेसम्म जम्मा यात्रा गरेकी छन्– १० किलोमिटर । अनि पारी चोकबाट त गाडी भेट्ने आशामा उनीहरु अगाडि बढिरहेका छन् । तर, काजोदी र परिवारलाई यो पनि थाहा छ, देशभर अहिले सवारी साधन चलेका छैनन् ।

हिँड्दा हिँड्दै गलेकी छिन् काजोदी तर गलेको छैन उनको सपना । गलेको छैन उनको गन्तव्य र गलेको छैन उनको चाहना । कोरोना भाइरसको यो विश्वव्यापी महामारीले पनि गलाउन सक्ने छैन उनको त्यो गन्तव्यसम्मको यात्रा । 

केहीबेर विश्राम लिने मुडमा पुगेकी छिन्, काजोदी । उनी परिवारका सबैजनासँग बाटो छेउमा बस्छिन् । त्यही बेला प्रहरी आउँछन् र भन्छन्– अलिक टाढा टाढा बस्नु, हाम्रो हाकिमले देख्यो भने तिमीहरु सबैलाई पक्राउ गर्छन्, हाम्रो जागिर जान्छ ।

यी प्रहरीले यति के भनेका थिए, ९० वर्षकी काजोदी फेरि उठ्छिन् । दरिलो बनाउँछिन् आफूले टेकेको लठ्ठी र दरिलो बनाउँछिन् गन्तव्यमा पुग्ने आफ्नो सपना । 

अनि उनी हिँड्न थाल्छिन् । हिँडिरहन्छिन् ! उनले हिँड्न छोड्नु हुँदैन !
 

भारतीय म्यागजिन आउटलुकबाट

  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार २:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया