पूर्वस्वास्थ्यमन्त्री यादवको माग: स्वास्थ्यकर्मीलाई ५० लाखको बिमा घोषणा गरियोस्

काठमाडौं– पूर्वउपप्रधान तथा स्वास्थ्यमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य सेवासँग सम्बन्धित अधिकारी, अनुसन्धानकर्तालगायतलाई न्युनतम ५० लाखको बिमा गराउन सरकारसँग माग गरेका छन् ।  

समाजवमदी पार्टीका अध्यक्ष यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवासँग सम्बन्धित डाक्टर, नर्स, स्वास्थ्य सहयोगीहरू, जनस्वास्थ्य अधिकारी, ल्याब प्राविधिज्ञहरू, अस्पताल सरसफाई मजदुर, औषधी विक्रेता, एम्बुलेन्स चालक÷सहचालकलगायत सबै पेसाकर्मी तथा यसविरुद्ध लड्न अध्ययन अनुसन्धानमा लागेका वैज्ञानिक आदि सबैको न्यूनतम् ५० लाखबराबरको स्वास्थ्य बिमा घोषणा गर्न माग गरेका हुन् । 

साथै उनले स्वास्थ्यकर्मीहरूको सुरक्षा सावधानीमा कुुनै कमी हुन नदिन सरकारसँग अपिल पनि गरेका छन् । ‘स्वास्थ्यकर्मीहरू कोविड–१९ विरुद्धको लडाइँमा अग्रमोर्चाका योद्धाहरू हुन्,’ उनले भनेका छन्,‘ स्वास्थ्यकर्मीहरूलाई निरन्तर सहयोग र उत्साहित गर्नु सबैको समान कर्तव्य हो ।’

अध्यक्ष यादवले संसदमा उपस्थित दलहरू, जनस्वास्थ्य विज्ञ, स्वास्थ्यकर्मी, औषधी व्यवसायी, निजी अस्पताल संघका प्रतिनिधि, सञ्चारकर्मी, मानवअधिकारकर्मी आदि सम्बद्ध सबै पक्षको सहभागिता हुने गरी सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गर्न उनले सरकारसँग माग गरेका छन् । 

उनले आफ्ना पार्टीका सांसदको १५ दिनको तलबसहित अन्य शुभेच्छुकबाट प्राप्त रकम १० लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा जम्मा गर्ने घोषणा समेत गरेका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १४:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया