अकर्मण्य स्वास्थ्यमन्त्री, बचाउमा नेकपा नेतादेखि कार्यकर्ता !

काठमाडौं– देश कोरोना महामारी सन्त्रासको अघिल्तिर उभिएको छ । चीनको वुहानमा गत डिसेम्बरमा सुरु भएको यो महामारीले अहिले युरोप र अमेरिकालाई ध्वस्त बनाइसकेको छ । 

खुला सीमाना रहेको छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमित दिनदिनै बढिरहेका छन् । पछिल्ला पाँच दिनमा भारतमा दैनिक कम्तीमा पनि ७० जना नयाँ संक्रमित भेटिएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

नेपालमा पनि कोरोना भाइरस संक्रमित देखिइसकेका छन् । तर, योबीचमा स्वास्थ्यमन्त्रालय नेतृत्वमा रहेका भानुभक्त ढकालले जति प्रदर्शन गर्नु पर्ने हो त्यति गर्न सकेका छैनन् । 

शनिबार नयाँ पत्रिका दैनिकमा छापिएअनुसार यही महामारीको बीचमा टेकु अस्पतालबाट केही विशेषज्ञहरुलाई स्वास्थ्यमन्त्रालय तानिएको छ तर कुनै काम नदिएर राखिएको छ ।

अर्कोतिर नेपालमा कोरोना भाइरस संक्रमितको परीक्षण चाहिएजति हुन सकेको छैन । दैनिक सयौँको कोरोना भाइरस परीक्षण हुनु पर्नेमा अहिलेसम्म नेपालमा एक हजार जनाको पनि कोरोना परीक्षण हुन सकेको छैन । 

यो अवस्था दक्षिण अफ्रिकी मुलुक बुरुन्डीको जस्तै छ । त्यहाँ अहिलेसम्म एउटा पनि कोरोना भाइरस संक्रमित भेटिएका छैनन् । त्यहाँका स्वास्थ्यमन्त्रीले एउटा पत्रकार सम्मेलनमा प्रश्न पाउँछन्– किन हाम्रो देशमा अहिलेसम्म कोरोना भाइरस संक्रमित भेटिएका छैनन् ?



उनले जवाफ दिन्छन्– यो अत्यन्त सामान्य कुरा हो, किनकि हामीसँग टेस्टिङ किट्स नै छैन । 

हो, अहिले विश्वभर टेस्टिङ किटको अभाव छ, स्वास्थ्य सामाग्रीहरुको अभाव छ । तर, प्रत्येक देशका स्वास्थ्यमन्त्री तथा नेताहरु यसको समाधानमा लागिपरेका छन् । यता, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल जे गर्नु पर्ने हो, त्यो गरिरहेका छैनन् । जे नगर्नु पर्ने हो त्यो गरिरहेका छन् । जस्तो कि उनी स्वास्थ्यकर्मीको हौसला बढाउन लागेका छैनन्, बरु उल्टै भन्छन्– पिपिई भनेको के हो ? मैले अहिलेसम्म सुनेको थिइनँ ।



तर, यिनै स्वास्थ्यमन्त्रीको बचाउमा सामाजिक सन्जालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेतादेखि कार्यकर्ता देखिएका छन् । नेकपाका सांसद महेश बस्नेतले समेत स्वास्थ्यमन्त्री फिल्डमा खटिएको तर उनीबारे अनर्गल प्रचार भएको सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । उनको यही स्टाटसको आधारमा केही अनलाइनहरुले समाचार पनि बनाएका छन् । नेकपका अर्का नेता विष्णु रिजाल पनि स्वास्थ्यमन्त्री ढकालको बचाउमा देखिएका छन् ।

  • प्रकाशित मिति : चैत १५, २०७६ शनिबार १५:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया