घट्दै छ कोरोना संक्रमितको संख्या, पौने दुई लाख संक्रमित निको भएर घर फर्किए

एजेन्सी– विश्वभर कोरोना भाइरस संक्रमण भएकामध्ये झण्डै पौने दुई लाख मानिस निको भएर घर फर्किसकेका छन् । विश्वमा कोराना संक्रमितको संख्या ७ लाख ८५ हजार ७ सय ९७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६५ हजार ६ सय ८ पुगेको छ । ५ लाख ५२ हजार ८ सय ८३ मानिसको अवस्था सामान्य रहेको छ । 

२९ हजार ४ सय ८८ मानिसको अवस्था भने अलिक जटिल छ । अर्थात् उनीहरुलाई भेन्टिलेटर तथा आइसियुमा राखेर उपचार गरिँदै छ । कोरोना संक्रमितमध्ये ४.८ प्रतिशत मानिसको मृत्यु भएको छ । यद्यपि यो औसत मृत्युदर हो । यसभित्र कुनै देशमा अलि बढी मृत्युदर छ । 

कस्ता मानिस, कुन उमेरका मानिस परेका छन् भन्ने कुरामा निर्भर गरिरहेको छ । इटालीमा धेरै मानिसको मृत्यु हुनुमा त्यहाँ संक्रमित हुने बढी मानिस वृद्ध भएका कारण मृत्युदर बढी हुन पुगेको मानिएको छ ।

दक्षिण कोरियामा कम मानिसको मृत्यु हुनुमा त्यहाँ कम उमेर समूहका मानिस यसबाट संक्रमित हुनुलाई कारण मानिएको छ । साथै दक्षिण कोरियामा स्वास्थ्य एवं चिकित्सा सुविधा निकै राम्रो भएका कारण मृत्युदर कम हुन पुगेको विश्लेषण गरिएको छ । 

इटालीमा सोमबार संक्रमित हुनेको संख्या घटेको छ । आइतबार त्यहाँ ५ हजार ९ सय ७४ नयाा संक्रमित भेटिएका थिए भने सोमबार ५ हजार २ सय १७ नयाँ संक्रमित भेटिएका छन् ।

कोरियामा पनि नयाँ संक्रमितको संख्या घटेको छ । आइतबार १ सय ५ जनामा संक्रमण देखिएको थियो भने सोमबार ७८ जनामा मात्र नयाँ संक्रमण पाइएको छ । चीन र दक्षिण कोरिया कोरोना भाइरस नियन्त्रण गर्ने पहिलो र दोस्रो मुलुकका रुपमा रहेका छन् । यी देशमा अहिले विदेशबाट स्वदेश आइरहेका मानिसहरु मात्रै नयाँ संक्रमितका रुपमा देखापरेका छन् । 



यसका साथै विश्वभर नयाँ संक्रमितको संख्या घटेको छ । आइतबार ६३ हजार १ सय ६० नयाँ संक्रमित पाइएका थिए भने सोमबार नयाँ संक्रमित हुने मानिसको संख्या ६८ हजार ४ सय ११ मात्रै छ ।

लकडाउनका कारण नयाँ मानिस संक्रमित हुन पाउँदैनन् र संक्रमण फैलिनबाट कम हुन्छ । तर, लकडाउनको अवधिभर सम्पूर्ण संक्रमित फेला पारेर अलग राखेर उपचार गर्न सकिएमा मात्रै कोरोना भाइरसको थप संक्रमण हुन पाउँदैन ।



सबैभन्दा कम संक्रमित रहेको महादेशका रुपमा अफ्रिका रहेको छ । त्यहाँ सोमबारसम्म ३ हजार ४ सय ८६ मानिस मात्रै संक्रमित पाइएका छन् । दोस्रोमा पूर्वी एसिया रहेको छ, नेपाललगायतका ११ मुलुक पर्ने यो क्षेत्रमा संक्रमित संख्या ४ हजार ८४ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण युरोपमा फैलिएको छ । युरोपमा सोमबारसम्म ३ लाख ९२ हजार ७ सय ९७ मानिस संक्रमित भएका छन् भने त्यसपछि उत्तर, दक्षिण अमेरिका रहेको छ । संयुक्त राज्य अमेरिका भने सबैभन्दा बढी मानिस संक्रमण हुने देशका रुपमा रहेको छ, त्यहाँ १ लाख ६४ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । 
 

  • प्रकाशित मिति : चैत १८, २०७६ मंगलबार १४:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया