युरोपेली देशहरुले अस्वीकार गरेका कोभिड–१९ टेस्टिङ किट नेपाल सरकारले ल्यायो

काठमाडौं– कोरोना भाइरस संक्रमण भए वा नभएको थाहा पाउन सरकारले चीनबाट ल्याएका र्‍यापिड टेस्टिङ किटमाथि प्रश्न उठ्न थालेको छ । १५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा दिन सक्ने भन्दै चीनले प्रचार गरेका यस्ता किट्सहरु युरोपेली देशहरुमा अस्वीकार गरिएका थिए । तर, सरकारले सात करोड रुपैयाँभन्दा बढी लागतमा ७५ हजार त्यस्ता किट किनेको छ । 

यी किटहरुलाई विश्व स्वास्थ्य संगठनले पनि सिफारिस गरेको छैन । यस्ता किटबाट आउने नतिजाका कारण समुदायमा कोरोना भाइरस संक्रमण झन् छिटो फैलिने आशंका गरिएको छ ।

यसअघि यस्तै किटहरुलाई युरोपेली देशहरुले अस्वीकार गरेका मात्र थिएनन्, आलोचना पनि गरेका थिए । स्पेन, टर्की तथा नेदरल्यान्ड्समा यस्तै किटका कारण समुदायमा कोरोना भाइरस संक्रमण झन् तीव्र गतिमा फैलिएको भन्दै उनीहरुले दोस्रो पटक यस्ता किट किनेनन् । तर, नेपाल सरकारले अझै दुई चरणमा यस्ता परीक्षण किट्स ल्याउने तयारी गरेको छ ।

अहिले युरोपेली देशमा लाखौँ मानिसमा कोरोना भाइरस देखिएको छ । त्यहाँ हजारौँले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटालीमात्र १५ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

सबैभन्दा पहिले कोरोना भाइरस मानिसमा चीनको वुहान सहरमा देखिएको थियो । सन् २०१९ को अन्त्यमा देखिएको कोरोना भाइरस नियन्त्रण गर्न चीन सरकारले कडा लकडाउन गरेको थियो ।

तर, चीनले त्यसपछि बनाएका टेस्टिङ किट र फेस मास्क नै गुणस्तरीय नभएको युरोपेली देशहरुले निष्कर्ष निकालेका थिए । 



सबैभन्दा पहिले नेदरल्यान्ड्स पुगेका यी सामानहरुलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले अस्वीकार गरेको थियो । २१ मार्चमा बनेका यस्ता सामाग्रीहरु त्यहाँका स्वास्थ्यकर्मीलाई वितरण गरिएको भए पनि ती सामाग्रीको प्रभावकारितामाथि प्रश्न उठेको थियो । त्यहाँका मास्कको फिल्टरले समेत काम नगरेको त्यहाँका अधिकारीले बताएका थिए ।

त्यसपछि उनीहरुले बाँकी सामान ल्याउन छाडे । 



‘थप आउने सामाग्रीलाई हामीले अहिले तत्काल नल्याउन भनेका छौँ,’ नेदरल्यान्ड्स सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘अब चीनबाट मास्क र टेस्टिङ किट्स नल्याउने हामी निष्कर्षमा पुगेका छौँ ।’

उता, स्पेनको सरकारले पनि अहिले नेपाल सरकारले ल्याएको जस्तै टेस्टिङ किट्स ल्याएको जनाएको थियो । तर यसले काम नगरेको भन्दै उसले यी सामानको आयात रोक्यो । 

‘६० हजारजनामा गरिएको परीक्षणमा त्यसले राम्रो नतिजा दिन सकेन,’ स्पेनका अधिकारीहले भनेका थिए, ‘त्यसैले हामीले यी सामान नल्याउने भयौँ ।’

यी देशले मात्र आरोप लगाएका होइनन्, स्पेनमा रहेको चिनियाँ दूतावासले पनि चीनमा प्राइभेट कम्पनीले बनाएका टेस्टिङ किट्स भरपर्दो नभएको भन्दै ट्विट गरेको छ ।

उता, टर्कीमा पनि यस्ता टेस्टिङ किट्स किनिएको छैन । त्यहाँ सुरुमा ३ लाख ५० हजार यस्ता टेस्टिङ किट्स किन्ने भनिएको थियो ।

  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १०:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया