भारतीय सीमाबाट नेपाल आउन चाहने नेपालीलाई प्रवेश गराउन सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं- भारतीय सीमाबाट नेपाल आउन चाहने नेपालीलाई प्रवेश गराउन आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिएन । अधिवक्ता मनीषकुमार श्रेष्ठले सो रिट दिएका थिए । 

भारतबाट नेपाल आउन चाहने नेपालीहरू सीमामा अलपत्र परेको भन्दै उनीहरूलाई प्रवेश दिनुपर्ने जिकिरसहित सर्वोच्चमा रिट परेको थियो । अदालतले दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले रिटका दुवै पक्षलाई २४ गते छलफलमा बोलाएको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ– प्रस्तुत निवेदनको संवेदनशीलतालाई मध्यनजर गरी दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेशको सन्दर्भमा निर्णय गर्न उपयुक्त हुने देखिएकोले चैत २४ गते अन्तरिम आदेश छलफलको पेसी तोकी प्रस्तुत निवेदन नियमाअनुसार पेस गर्नू ।

यसअघि अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले सीमा बन्द गर्ने र अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय विरूद्ध दिएको रिटमा पनि छलफल सुनेर मात्र अन्तरिम आदेश दिने सर्वोच्चले जनाएको थियो ।

मंगलबार दार्चुलापारिको धार्चुलामा नेपाल आउन चाहने नेपालीले प्रवेशको माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । सरकारले भने बाँकीलाई भने भारतमै क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने बताएको छ ।

नेपालमा कोरोनाको दोस्रो संक्रमित व्यक्ति भेटिएपछि मुलुकभरि १५ दिन लकडाउन गर्ने घोषणा पनि सरकारले गरेको छ । विश्वभर फैलिएको कोरोना संक्रमणलाई रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि नेपालभारत सीमामा अत्यावश्यक सामग्रीका मालवाहक गाडीबाहेक अन्यको आवतजावतमा रोक लगाएको छ ।





  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार १७:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया