अस्पतालको लापारवाहीले तीन दिने शिशुमा काेराेना भएपछि बाबु भन्छन्– मैले टेकेकाे जमिन भासियाे
प्रतिकात्मक तस्वीर

मुम्बईका विक्की सिंह यति धेरै खुसी थिए कि उनको परिवारमा नयाँ सदस्यको आगमन हुँदै थियो । उनकी पत्नी गर्भवती थिइन् । त्यसैले उनी खुसी थिए । 

तर, यहीबीच विश्वमा कोरोनाको महामारी फैलियो । भारतमा पनि यसले असर गर्न थाल्यो । 

तर, विक्की सचेत थिए, उनले श्रीमतीलाई कोरोना संक्रमणबाट बचाउन निकै प्रयास गरिरहेका थिए । 

उनकी श्रीमतीले २६ मार्चमा छोरा जन्माइन् । 

यो खुसी विक्कीले आफन्तहरुसँग सेयर गरे । अनि पत्नी र बच्चालाई कोरोना संक्रमणबाट बचाउन हरसम्भव प्रयास पनि गरे । 

त्यसका लागि उनले मुम्बईको साइ अस्पतालमा दुई बेड भएको सिंगै कोठा बुक पनि गरे । त्यहाँ नै उनकी पत्नीको भर्ना भयो, त्यहाँ नै उनले छोरा जन्माइन् । 



तर, दुर्भाग्य, उनकी पत्नी र छोरा दुवैलाई कोरोना संक्रमण देखियो । 

यो सब भएको चाहिँ अस्पतालको लापरवाहीका कारण थियो । 



अस्पताल प्रशासनले केही दिनपछि विक्कीलाई त्यो कोठामा पहिले कोरोना संक्रमितको उपचार भएको बतायो । खासमा अस्पतालले कोठालाई राम्रोसँग सफा नगरेकाले नै विक्कीकी श्रीमती र छोरालाई कोरोना संक्रमण भएको रहेछ । 

अस्पतालसँग कुरा गर्न बिबिसीको हिन्दी संस्करणले प्रयास गरेको तर अस्पतालले कुनै पनि जवाफ नदिएको बताएको छ ।

विक्की एउटा चल्तीको रेष्टुरेन्टका म्यानेजर हुन् ।

‘अस्पतालले मलाई झुट बोल्यो,’ विक्कीले अब बिबिसी हिन्दीलाई बताएका छन् । उनले अस्पतालले श्रीमती गर्भवती भएकै दिनमात्र त्यो कोठामा पहिले कोरोना संक्रमितको उपचार भएको जानकारी दिएको बताएका छन् । 

अस्पतालले यो जानकारी दिँदा विक्की पूरै डराए । यो स्वभाविक पनि थियो । तर, अस्पतालले पहिले विक्कीको आग्रहमा पनि उनको र परिवारको कोरोना टेस्ट गर्न पनि मानेको थिएन ।

३० मार्चमा अस्पतालले विक्कीलाई डिस्चार्ज लिन भन्यो । तर, अब कोरोना संक्रमण भएको हुनसक्ने भन्दै डराइसकेका विक्कीले यो मानेनन् । उनले घरमा भएकी ७० वर्षकी हजुरआमालाई सम्झिए । तर, अस्पतालले भन्यो– हामी बन्द हुँदैछौँ ।

घरमा पुगेको भोलिपल्ट बल्ल विक्की र उनकी श्रीमतीको कोरोना टेस्टको नतिजा आयो– विक्कीलाई कोरोना भएको रहेनछ, उनकी पत्नी र बच्चालाई कोडि १९ भएको पत्ता लाग्यो ।

‘मैले टेकेको जमिन भासिएको जस्तो अनुभव भयो,’ उनले भने, ‘अहिले हामी तीन जना नै अर्को अस्पतालमा क्वारेन्टाइनमा छौँ । स्वास्थ्य राम्रो छ ।’ 

  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार ४:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया