ताज फुकालेर अस्पताल फर्किएकी मिस इंग्ल्यान्ड

एक सुन्दरी जसलाई सन् २०१९ मा मिस इंग्ल्यान्डको ताज पहि¥याइएको थियो, उनी फेरि अस्पतालमा फर्किएकी छिन् । अस्पतालमा किनकि उनी अब कोरोना भाइरस संक्रमितको सेवामा आफूलाई तल्लीन बनाउन चाहन्छिन् । र, ताज पहिरिनुअघि आफूले गरिरहेको पेशामा उनी फर्किएकी हुन् । 

भाषा मुखर्जीले सन् २०१९ मा मिस इंग्ल्यान्डको ताज पहिरिएपछि जुनियर चिकित्सकको पदबाट राजीनामा दिएकी थिइन्, सौन्दर्यसम्बन्धी कार्यक्रमहरुमा आफूलाई फोसक गर्दै आएकी छिन् । अनि उनले इंग्ल्यान्डलाई सौन्दर्य प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्दै पनि आएकी थिइन् ।

विभिन्न च्यारिटी कार्यक्रमहरुका लागि दूत बनाएर बोलाइने भएपछि आफूले घाँटीमा झुन्ड्याइरहेको स्टेथोस्कोप उनले फुकालेकी छिन् र कोठामा झुन्ड्याएकी थिइन् । उनी यो वर्षको अगस्टसम्म सौन्दर्य प्रतियोगिता अन्य मानवीय सहायताका कार्यक्रममा फोकस हुन चाहन्थिन् । 

‘मलाई अफ्रिका बोलाइएको थियो, टर्कीमा जाने कार्यक्रम थियो, भारत र पाकिस्तान र अरु देशले विभिन्न समयमा आमन्त्रण गरेका थिए,’ उनले भनेकी छिन्, ‘त्यहाँ विभिन्न च्यारिटी कार्यक्रममा जानु पर्ने थियो ।’

मार्चको सुरुवातमा यी २४ वर्षीया सुन्दरी भारतमा आएकी पनि थिइन् । त्यहाँ विभिन्न स्कुलमा पुगेकी थिइन्, बालिकाहरुलाई स्यानटरी प्याडसहित किताब, कापी र कलम बाँडेकी थिइन् । कतिपयलाई त आर्थिक सहयोग पनि उनले गरेकी थिइन् । कोभेन्ट्री मर्सिया लाइन्स क्लबकी दूत रहेकी मुखर्जीले अरु पनि यस्तै कार्यक्रम गर्ने योजना बनाएकी थिइन् ।

तर, विश्व कोरोनाभाइरस महामारीमा जेलियो । मुखर्जीले पनि आफूले पहिले काम गरेको अस्पतालबाट साथीहरुको कल पाइन् र थाहा पाइन्, अस्पतालहरुमा अहिले निकै समस्या छ । 



यो थाहा पाएपछि उनले अस्पताल प्रशासनलाई कल गरिन् । अनि आफू फेरि काममा आउन चाहेको बताइन् । सिएनएनका अनुसार उनले यो संकटमा सुन्दरीको ताज पहिरिन अप्ठ्यारो मानेकी थिइन् ।



‘म फेरि फर्किन चाहेँ,’ उनले भनिन्, ‘विदेशबाट आएपछि ताज खोलेँ र आफ्नो काममा फर्किएँ ।’

९ वर्षको उमेरमा कोलकत्ताबाट बेलायतमा पुगेकी मुखर्जी अहिले डर्बीमा बस्छिन् । ‘र, अहिले मैले यो नै उचित समय भएको र म आफू यही काममा फर्किनु पर्छ भन्ने सोचेँ,’ उनले सिएनएनलाई भनेकी छिन्, ‘मिस इंग्ल्यान्ड भएर मैले इंग्ल्यान्डलाई सहयोग गर्ने योभन्दा उचित समय पाउँदिनँ ।’

तर, भर्खर भारतबाट फर्किएको हुनाले उनले केही दिन अझै आइसोलेसनमा बस्नु पर्ने हुनेछ । त्यसपछि यी सुन्दरीको टाउकोमा सौन्दर्यको ताज होइन, घाँटीमा फेरि त्यही स्टेथोस्कोप देखिनेछ जसले कोरोनाभाइरस संक्रमितको उपचारमा सहयोग गर्नेछ ।

संयोग त के भने कोरोनाभाइरसका कारण हाम्रो सासप्रश्वासमा समस्या हुन्छ, अनि मुखर्जी यही सासप्रश्वाससम्बन्धी विशेषज्ञ हुन् !

  • प्रकाशित मिति : चैत २५, २०७६ मंगलबार १८:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया