नेकपा सचिवालयको पाँच घन्टे लामो बैठकः ओलीले ब्रिफ गरे, नेताहरुले पत्याए, निष्कर्ष निकाले– सरकारले राम्रो गरिरहेको छ !

काठमाडौं– मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अरु दिनभन्दा बेग्लै चहलपहल थियो । सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने कुरा बाहिर आएको थियो । 

विहान देखि नै प्रधानमन्त्री केपी शर्मा ओली त्यसको तयारीमा जुटेका थिए । 

दिउँसो प्रधानमन्त्री ओली स्वयंले उनको दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बोलाएका थिए । 

नेपालमा लकडाउन आह्वान भएपछि सरकार विभिन्न कान्डमा मुछिएको भन्दै सचिवायलयका नेताहरुले नै बैठक बस्नु पर्ने दबाब दिँदै आएका थिए । पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले त यसबारे ट्विट नै गरेका थिए । 

मंगलबार दिउँसो चार बजे बालुवाटारमा यसअघि तय भएअनुसार नै सचिवालय बैठक सुरु पनि भयो । पाँच घन्टा लामो चलेको यो बैठकमा अधिकांश समय अध्यक्ष केपी शर्मा ओलीलाई अन्य सदस्यहरुले प्रश्न सोधेको र ओलीले उत्तर दिएको एक सचिवालय सदस्यले बताए । 

‘सुरुमा त कोरोनाभाइरसबारे कुराकानीबाट नै सुरु भयो,’ ती सदस्यले फरकधारसँग भने, ‘केही सदस्यहरुले प्रश्न राख्नु भयो, केपी कमरेडले सरकारका कामकारवाहीबारे जानकारी दिनुभयो ।’



अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको यो बैठकमा नेताहरुले कोभिड १९ विरुद्धको लडाईंमा सरकारले राम्रै गरेको निष्कर्ष निकाले ।

कोरोनाभाइरसविरुद्ध सरकारले गरिरहेका कामकारवाहीबारे प्रधानमन्त्री ओलीसँगको छलफलमा सचिवालयका पाँच सदस्य एकातिर भएपछि केही समय गरमागर्मी बहस समेत भएको थियो । 



ती सचिवालयका सदस्यका अनुसार सबैभन्दा ठूलो मतभेद स्वास्थ्य सामाग्री खरिद प्रकरणको विषयमा भएको थियो । तर, यसबारे प्रधानमन्त्री ओलीले आफूलाई केही थाहा नभएको भन्दै सुरु बाट नै पन्छिने मेसो निकालेका थिए । 

ती सदस्यले भने, ‘बाहिर व्यापक आवाज उठेको छ, कहिले एउटा कम्पनीलाई ठेक्का दिने, कहिले रद्द गर्ने गर्दा सरकारको छवि राम्रो भएको छैन भनिएको थियो, त्यसमा प्रधानमन्त्री ओलीले आवश्यकता परे पार्टीले नै छानबिन गर्न सक्ने जवाफ दिनु भएको छ ।’

यतिमात्र होइन, उनका अनुसार प्रधानमन्त्री ओलीले ओम्नी ग्रुपलाई दिएको स्वास्थ्यसामाग्री किन्न दिइएको सम्झौताबारे आफू अनभिज्ञ रहेको समेत बताए । उनले यसबारे आफूले अध्ययन गर्न थालेको पनि बताएका थिए ।

  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार ०:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया