आज डोनाल्ड ट्रम्पलाई भेट्न जानु छ
अमेरिकामा कति जनता संक्रमित छन् र कति जनता निको हुँदैछन् भनेर जान्न मन छ ।
ए लौ न, बेलायतमा त प्रधानमन्त्री बोरिस जोन्सन आफैं अस्पताल भर्ना भए रे
तपाईं कहिले फेरी युद्ध मैदानमा फर्कनुहुन्छ भनेर सोध्न मन छ ।
आज क्यानाडा तिर एकछिन चिहाउन मन छ
प्रधानमन्त्री जस्टिन ट्रुडोले व्यापारी र जागिरेहरूलाई कति अर्बको राहत घोषणा गर्दैछन् भनेर सुन्न मन छ।
एकछिन त उत्तर तिर सी जिनपिङलाई पनि बिथोल्न जानु छ
चीनबाट इटाली र स्पेनमा कति जहाज स्वास्थ्य सामाग्री पठाउँदै छन् भन्ने उत्सुकता मेट्न मन छ ।
अलि भरे-भरे दक्षिणी छिमेकी नरेन्द्र मोदीलाई पनि नियाल्नु छ
भारतमा 'जनता कर्फ्यु' कति सफल भयो भनेर आँकडा माग्न मन छ।
आज स्कट मरिसनले पनि बोलाएका छन् - जानु पर्छ ।
अष्ट्रेलियामा जागिर-विहिनहरुलाई कति समयसम्म भत्ता दिने रहेछन् भनेर पहिल्याउनु छ ।
पीडितहरुको चहराइरहेको घाउमा मल्हम लगाएको हो कि जस्तो लाग्यो
एक-से-एक राष्ट्र प्रमुखहरु त मेरै बैठक कोठामा पालैपालो फेहरिस्त लिएर हाजिर भैरहेका छन् ।
हुन त हामीलाई 'काग लाई बेल पाक्यो हर्ष न विस्मात' भने जस्तै नै हो ।
तैपनि तिनका जनतालाई 'तिम्रो संकटमा हाम्रो पनि साथ छ' भनेका होलान् भनेर मन दङ्ग छ।
ए सुन न ! सबै-सबैलाई त भेटिसकें, आफ्नै बैठक कोठा र टेलिभिजन सेटमा देखिसकेँ
एकचोटी आफ्नै राष्ट्रपतिज्यूलाई पनि जदौ गर्न जानु पर्ने छ
साह्रै नै सौखिन छिन् रे उनी- एउटा बनारसी साडी टक्र्याउन मन छ ।
अनि यस्तो बेलामा आफ्नै देशका प्रधानमन्त्रीलाई कसरी नभेट्नु
लौ न एक सिसी हर्लिक्स, एक पाउ मिश्री र एक किलो फलफूल ठिक पार त
सार्है बिरामी छन् रे - एक चोटि बोलाउन पो जान मन छ !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।