पोखरा– विश्वभर कोरोनाभाइरसले कहर मच्चाइरहँदा शनिबार नेपालीका लागि भने सुखद समाचार आएको छ– नेपालमा कोरोनाभाइरस संक्रमित पहिलो युवती तथा दोस्रो व्यक्ति कोरोनाभाइरस ठिक भएपछि घर फर्किएकी छिन् ।
अब बाग्लुङमा कोरोनाभाइरस संक्रमित ६५ वर्षीया महिलाले पनि कोरोनाभाइरसलाई जितेकी छिन् । उनका दुई पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि उनलाई पनि डिस्चार्ज गर्ने अस्पतालले तयारी गरेको छ ।
धौलागिरी अस्पतालमा कोरोनाभाइरसविरुद्ध लडिरहेकी यी महिलाको बिहिबार र शनिबारका दुई परीक्षण रिपोर्ट नेगेटिभ आएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको हो ।
४ चैतमा बेल्जियमबाट फर्किएकी यी महिलामा २० चैतमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यसअघि नै दमको औषधी समेत खाइरहेकी महिलामा कोरोनाभाइरसका लक्षण देखिएका थिएनन् । कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएकी यी महिलाले कोरोनालाई जितेको अधिकारीहरुले जनाएका छन् ।
उनी ठिक भएसँगै नेपालमा कोरोनाभाइरसलाई जित्ने तेस्रो व्यक्ति उनी भएकी छिन् । यसअघि दुई जनाले कोरोनाभाइरसलाई जितिसकेका छन् ।
बाग्लुङकै अर्की संक्रमित युवतीको चाहिँ उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।