काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको केही समयपछि नै नेपाल कम्युनिस्ट पार्टीमा पूर्वमाओवादी मन्त्रीहरुले छुट्टै बैठक गरेका छन् । यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा आएको राजनीतिक दलसम्बन्धी कानुन संसोधनको अध्यादेश अहिले किन ल्याइएको होला भन्ने विषयमा चर्चा भएको छ ।
यो बैठकले खासै केही निष्कर्ष ननिकाले पनि पूर्वमाओवादी नेताहरुबीच चर्चा चर्कोसँग बढेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको खण्डमा पार्टी फुटाउन खोजेको निष्कर्ष निकाल्न थालेका छन् ।
अनि यही चर्चा र पार्टीको छलफलको विषयलाई लिएर पार्टीका नेता तथा ऊर्जामन्त्री वर्षमान पुन खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।
‘यसले स्पष्ट संकेत गर्छ, अहिले पार्टी कुन समस्याबाट आगडि बढिरहेको छ भन्ने,’ पूर्वमाओवादी एक नेताले भने, ‘सत्ता सन्चालनमा अहिले देखिएको रवैयाका कारण अहिले पार्टी यो ठाउँमा आइपुगेको हो । अब त दुई गुटबीच विवाद उत्कर्षमा भएको प्रमाणित नै भइसकेको छ ।’
खुमलटारमा मन्त्री पुनले ब्रिफिङ गरेपछि पार्टी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग यसबारे छलफल गर्ने स्रोतले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।