सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन : राजपा

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारले पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध एकजुट हुन आग्रह गरेको छ । सो पार्टीले आक्रोश व्यक्त गर्दै एक ढिक्का भएर कोरोनालगायत महामारीविरुद्ध लड्न पनि पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानुन संशोधन गराएको हो । राजपा संयोजक शरतसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै अध्यादेशबारे औपचारिक धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा जनताले दिएको म्यान्डेटविपरीत दलसम्बन्धी कानुन संशोधन गरेर राजनीति र देशको स्थायित्वप्रति बेइमानी गरिएको उल्लेख छ ।

राजपाले दल विभाजनसम्बन्धी कानुनमा गरिएको संशोधनले आफ्नो पार्टीलाई कुनै असर नपार्ने प्रष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई कुनै प्रकारको असर गर्दैन । निर्णयबाट कुनै भ्रममा नपरी कोरोना महामारीको यस घडीमा पूरै पार्टी पंक्तिलाई एक ढिक्का भई दत्तचित्त भई आफ्नो भूमिका निर्वाह गर्न आह्वान गर्दछौँ ।’

संवैधानिक परिषद्मा विपक्षी दलका नेताविनै निर्णय गर्न मिल्ने गराइएकोप्रति असहमति राख्दै राजपाले यसले विधिको शासनको हुर्मत लिने र लोकतन्त्र कमजोर हुने ठहर गरेको छ । 





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १८:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया