एजेन्सी– यो साताको अन्त्यसम्म इटालीले अब लकडाउनबाट कसरी बाहिर आउने भन्ने विषयको योजना सार्वजनिक गर्ने भएको छ ।
इटालीका प्रधानमन्त्री गियुसेप्पे कोन्टेले फेसबुकमा एउटा पोस्ट लेख्दै यसको जानकारी दिएका हुन् ।
उनले इटालीमा अब लकडाउन अन्त्य हुने तर यो क्रमशः हुने बताएका छन् । ‘अत्यन्त धेरै सावधानी र गम्भीर वैज्ञानिक नीति’का साथ इटाली खोल्ने कोन्टेले दाबी गरेका छन् ।
यसको कार्यान्वयन ४ मेबाट हुनसक्ने अनुमान उनले गरेका छन् ।
युरोपमा कोरोनाभाइरसका कारण सबैभन्दा धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा मंगलबारसम्म कोरोनाभाइरसका कारण २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको बताइएको छ ।
‘मलाई त एकैपटक सबै खोलौँ भन्ने मन छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर, यस्तो निर्णय गैरजिम्मेवार हुनेछ । त्यसैले केही सावधानी अपनाएर हामी अब विस्तारै खुल्ने छौँ ।’
इटालीमा ९ मार्चदेखि पूर्ण रुपमा लकडाउन आह्वान गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।