बालुवाटारमा नेकपा सांसदहरुलाई प्रचण्डकाे उपस्थितिमा ओलीकाे बिफ्रिङ

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका संघीय सांसदहरुलाई बुधबार दिउँसो बालुवाटारमा बिफ्रिङ गर्न थालेका छन् । 

विभिन्न प्रदेशका सांसदहरुलाई छुट्टाछुट्टै समयमा बोलाएर यी दुई अध्यक्षले पार्टीका र सरकारका पछिल्ला गतिविधिबारे आफ्ना सांसदहरुलाई बताउन थालेका हुन् । 

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यदेश आएपछि पार्टीका सांसदहरु अन्योलमा पर्न थालेका थिए । यी अध्यादेशबारे बेखबर रहेको र यसको व्यापक आलोचना हुँदा उनीहरुले पार्टी पंक्तिसँग संवाद गर्न चाहेको बताउन थालेका थिए । यही कुरालाई सम्बोधन गर्ने हेतुले आजको कार्यक्रम राखिएको बालुवाटार स्रोतले फरकधारलाई जानकारी दिएको छ ।

दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउन ल्याइएको अध्यादेशका कारण अहिले नेपाल कम्युनिस्ट पार्टी मात्र होइन, सिंगो राजनीति नै तरंगित भएको छ । 

कतिसम्म भने बालुवाटारबाट यो अध्यादेश शितल निवास पुगेर जारी भए लगत्तै नेकपा कार्यकर्ता पंक्तिमा नै अब पार्टी फुट्छ भन्ने अनुमान सुरु हुन थालिसकेको छ । कतिपय नेताले त पार्टी विभाजन भइसकेको भन्दै जिम्मेवार व्यक्तिहरुले नै अभिव्यक्ति दिन थालेको आरोप पनि लगाएका छन् । 

यसका एक उदाहरण हुन्, पूर्वमन्त्री तथा सांसद गोकुल बाँस्कोटा । बालुवाटारमा सांसदहरुसँग दुई अध्यक्षले बिफ्रिङ गरिरहँदा गोकुल बाँस्कोटाले ट्विटरमा लेखेका छन्ः 



एक ब्यक्ती, एक पार्टी, एक स्कुल चलाउँदै हरिहरपुर हुँदै सिन्धुलीगढी शिखर चढेका नेताले मध्य बैशाखमा नेकपा फुटिसकेको शीतलहर चलाईदिए रे सिन्धुलीतिर । महाभारत छिचोलेर त्यो शीतलहर कैले छिर्ने रहेछ काठमाडौं ? कौतुहल पो लाग्ये त गाँठे !



उता बालुवाटार बिफ्रिङमा चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीले यो अध्यादेश आफ्नो पार्टी फुटाउन नल्याएको बताएका छन् ।

उनले नेताहरुको मन मिलेमा राजनीतिक दलहरु एकताबद्ध भएर जाने र मन नमिले जति कस्न खोजे पनि पार्टीहरु फुट्ने भएकाले अहिले ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध गर्नु पर्ने कुनै आवश्यकता नरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पहिलो चरणको बिफ्रिङमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने केही बोलेनन् । 

प्रधानमन्त्रीले चाहिँ यो अध्यादेश अहिले कुनै पनि पार्टी फुटाउने उद्देश्यका साथ नआएको बातएका छन् ।

  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १४:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया