बेलायतमा कोरोनाभाइरसविरुद्धको भ्याक्सिनमा काम गर्न नेतृत्व दिइएका दुई वैज्ञानिकले यो भ्याक्सिन यही वर्ष नै उपलब्ध हुने विश्वास लिएका छन् ।
प्रोफेसर साराह गिल्बर्ट अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनमा काम गरिरहेको समूहमा नेतृत्व गरिरहेकी छिन् । उनले अब बिहिबार पाँच हजार भोलिन्टियर्सको सहयोगमा नयाँ भ्याक्सिन मानिसहरुमा परीक्षण गरिने बिबिसीलाई जनाएकी छिन् ।
‘सुरुको दिन हामी दुई जनाबाट मात्र सुरु गर्नेछौँ,’ उनले भनेकी छिन्, ‘यसले भ्याक्सिनले राम्रो गर्ने सुनिश्चितता गरेपछि हामी विस्तारै अलिक धेरै मानिसहरुमा यसको प्रयोग गर्नेछौँ र यो वर्षभित्र भ्याक्सिन उपलब्ध गराउने छौँ ।’
लन्डनकै इम्पेरियल कलेजका प्रोफेसर रोबिन शाटोकले पनि भ्याक्सिनको प्रभावकारिता हेरेर यो वर्षभित्र भ्याक्सिनको विकास गरिसक्ने बताएका छन् । तर, सुरुको चरणमा यो भ्याक्सिन फ्रन्ट लाइनमा काम गर्ने मानिसहरुका लागि उपलब्ध हुने उनले बताएका छन् ।
अनि अर्को वर्ष यो भ्याक्सिन पूरै विश्वका लागि ल्याउन सकिने उनको तर्क छ ।
अहिले यो भ्याक्सिन निकै महत्वपूर्ण भइसकेको छ । किनकि विश्वमा यो भाइरस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भइरहेको छ र अहिले पनि विश्वको पूरै जनसंख्या भाइरसबाट प्रभावित हुने सम्भावना छँदै छ ।
भ्याक्सिन बन्यो भने मात्र विश्वमा भइरहेका लकडाउनहरु सहजै हट्न सक्ने थिए, मानिसहरु फेरि पुरानै जीवनशैलीमा आउन सक्ने थिए ।
अहिले भ्याक्सिन बनाउनका लागि विश्वभरका रिसर्चरहरु निकै तीव्र गतिमा काम गरिरहेका छन् । विश्वभर ८० समूहले यो भ्याक्सिनबारे रिसर्च गरिरहेका छन् । कतिपय ठाउँमा अब भ्याक्सिन मानिसमा पनि परीक्षण गर्ने कुरा भइरहेको छ ।
सबैभन्दा पहिले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन गत महिना सिएटलमा वैज्ञानिकहरुले मानिसमा प्रयोग गरेका थिए । तर, यसको अध्ययन अझै सकिएको छैन । बेलायत र जर्मनीमा पनि अब भ्याक्सिन मानिसमा परीक्षण गर्ने कुरा भइरहेको छ ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले सेप्टेम्बरको अन्त्यसम्ममा १० लाख भ्याक्सिन बनाउने लक्ष्य लिएर काम गरिरहेका छन् । तर, अहिलेसम्म कसैलाई पनि यो भ्याक्सिनको प्रभावकारिता के होला भन्ने थाहा भइसकेको छैन ।
तर, कहिलेसम्म बनिसक्ला त भ्याक्सिन ?
यसका लागि त वर्षौं वा एक दशक पनि लाग्न सक्छ । तर, अहिले रिसर्चरहरु केही महिनामा नै यो काममा सफलता पाउने उद्देश्यका साथ काम गरिरहेका छन् ।
जे होस्, विभिन्न विज्ञहरुले अब भ्याक्सिन २०२१ को बीचसम्ममा आइसक्ने अनुमान पनि गरेका छन् । यो एउटा ठूलो वैज्ञानिक उपलब्धि हुनेछ । तर, यसले पनि काम गर्छ भन्ने कुनै ग्यारेन्टी छैन ।
अहिले भ्याक्सिनमा काम गरिरहेका समूहहरुले ट्रायल गर्न खोजिरहेका छन् । तर, अहिलेसम्म यो कति प्रभावकारी हुन्छ भन्ने कसैले पनि भन्न सकेका छैनन् । त्यसपछि पनि निकै ठूलो प्रक्रियाबाट यो गुज्रनु पर्ने हुन्छ । अनि अहिले भइरहेको लकडाउनका कारण पनि भ्याक्सिन बनिहालेको खण्डमा विश्वका विभिन्न देशमा पुग्न केही समय पक्कै लाग्ने छ ।
अर्कोतिर, अहिले कति मानिसमा यो भ्याक्सिन दिनुपर्छ भन्ने पनि थाहा हुनसकेको छैन । भाइरस संक्रमण पुष्टि भइसकेका कम्तिमा पनि ७० प्रतिशत मानिसलाई भ्याक्सिन आवश्यक हुने विश्वका रिसर्चरहरुले बताइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।