जनता समाजवादी पार्टी होला कि रेणु यादव नेतृत्वको दल पहिले निर्वाचन आयोगमा दर्ता ?
रेणु यादव

काठमाडौं– बुधबार नेपाली राजनीतिमा अचानक नयाँ मोड आएको छ । लामो समयदेखि एकीकरण गर्न कसरत गरिरहेका समाजवादी पार्टी र राजपाबीच एकीकरण भएको छ ।

केही दिनअघि मात्र जारी भएको नयाँ अध्यादेशका कारण पार्टी विभाजन खुकुलो भएपछि यो समीकरण देखिएको हो । तर, एकातिर एकता हुँदाहुँदै समाजवादी पार्टीबाट केही नेताहरु अलग पनि भएका छन् । यसरी अलग हुने नेताहरुलाई नेतृत्व गरेकी छिन्, समाजवादी पार्टीकी उपाध्यक्ष तथा सांसद रेणु यादवले । 

स्रोतका अनुसार यादव र पूर्वमन्त्री तथा समाजवादी पार्टीका नेता इस्तियाक मोहम्मद राईकै अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरेका थिए । 

योसँगै बुधबार मध्यराति नेपालले दुई नयाँ पार्टी पाएको छ ।

सँगसँगै प्रश्न पनि उठेको छ– बिहिबार दुई पार्टीमध्ये पहिले कुन निर्वाचन आयोगमा दर्ता होला ? 

यसका लागि केही प्राविधिक विषयलाई हेरौँ । 



समाजवादी पार्टीबाट छुट्टिएको रेणु यादव नेतृत्वको नयाँ दलका लागि अध्यादेशले संशोधन गरिदिएको कानुनअनुसार कम्तिमा पनि सात जना सांसद पार्टी दर्ताका लागि चाहिन्छ । यो समूहमा गएका एक सांसदले आफूहरुसँग अहिलेको प्रावधानअनुसार नयाँ दल दर्ता गर्न सबै कुरा पुगिसकेको बताएका छन् । 

उता, समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर बनेको नयाँ दल जनता समाजवादी पार्टी नेपालका लागि चाहिँ अहिलेको कानुनअनुसार चाहिने सांसद पर्याप्त छन् । 



तर, जनता समाजवादी पार्टीले हतारमा एकता गर्दा धेरै कुरा टुङ्ग्याउन पर्ने आवश्यकता रहेको छ । पहिलो कुरा त यसको केन्द्रीय सदस्यको सूची नै हो । अहिले समाजवादी पार्टीमा ४ सयभन्दा धेरै केन्द्रीय सदस्य छन् भने राजपामा ८ सयभन्दा धेरै । यी दुई पार्टी मिल्दा समानताको आधारमा एकता गर्ने भनिएको छ । तर, यसमा अब कति केन्द्रीय सदस्य हुनेछन् भन्ने निश्चित भइसकेको छैन । 

निर्वाचन आयोगमा दल दर्ता गर्दा चाहिँ केन्द्रीय सदस्यको पूर्ण बैठक बसेर नयाँ दलका लागि अनुमोदन हुनुपर्छ ।

अर्कोतिर, रेणु यादवले सानो समूह बनाएर नयाँ दल दर्ता गर्ने भएकाले यो नयाँ दललाई केन्द्रीय सदस्य संख्या कम बनाएर निर्वाचन आयोग जाने बाटो खुला छ । 

यो समूहले आफूहरुले नाम पनि टुङ्ग्याइसकेको दाबी गरेको छ । तर, यो नयाँ दलको चुनाव चिह्न के हुने र पार्टीको झन्डा कस्तो हुने भन्ने विषयमा अहिलेसम्म निक्र्योल निकालिसकेको छैन । 

बुधबार मध्यरातिमा यादवलगायतका नेताहरुको भेलाले आफूहरु अलग हुने टुङ्ग्याइसकेपछि यसमा गृहकार्य भइरहेको बताइएको छ । त्यसैले बिहिबार विहानसम्म यो विषयमा टुङ्गो लाग्ने हो भने रेणु यादव समूहको नयाँ पार्टी पहिले निर्वाचन आयोगमा दर्ता हुन सहज हुने देखिएको छ ।

  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार ३:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया