एकीकरणको सूचना दिन जनता समाजवादी पार्टी निर्वाचन आयोगमा, महतोले भने– हामी जुटिसक्यौँ, अब फुट्दैनौँ

काठमाडौं– बुधबार मध्यराति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताबीच भएको एकीकरण सम्झौताबारे निर्वाचन आयोगलाई जानकारी दिइएको छ । बिहिबार विहान निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टी, नेपालका नेताहरुले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउन निवेदन दिएका हुन् । 

यो सम्झौतालाई औपचारिकता दिन आफूहरु निर्वाचन आयोग पुगेको जनता समाजवादी पार्टीका नेताहरुले प्रतिक्रिया दिएका छन् । बिहिबार निर्वाचन आयोगमा उनीहले दर्ताका लागि दिएको निवेदन १३८८ रहेको छ ।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण समाजवादी पार्टी र राजपामा फुट आउन सक्ने पूर्वानुमान गरेर यी दुई दलका नेताले हतार हतार बिहिबार पार्टी एकीकरण गर्ने सम्झौता गरेका थिए । एक वर्षभन्दा अगाडि देखि नै यी पार्टीबीच एकता गर्ने विषयमा हल्ला चल्न थाले पनि त्यसले मूर्त रुप लिन सकेको थिएन । 

तर, जब दल विभाजन गर्न खुकुलो हुने अध्यादेश आयो, समाजवादी पार्टीका केही नेताहरुले अलग हुने विषयमा छलफल गर्न थाले । लगत्तै राजपा र समाजवादी पार्टीका शीर्ष नेताहरुले भेटघाट गरे र पार्टी एकीकरणको लागि मध्यरातमा सम्झौता गरे । 

तर, अब प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्य पूरा नहुने देखेपछि र पार्टीभित्रैबाट पनि चर्को आलोचना भएपछि यो अध्यादेश फिर्ता लिने बताएका छन् । अध्यादेशकै कारण पार्टी एकीकरण गर्ने सम्झौता गरेका अब यी दुई दलले अध्यादेश फिर्ता भएपछि के गर्छन् त ? के यो सम्झौता भंग हुने त होइन ?

‘हामी अब एक भइसकेका छौँ, अब जुटिसकेको कुरा पनि कहाँ फुट्छ ?’ जनता पार्टीका नेता राजेन्द्र महतोले भने, ‘त्यो त अब कल्पना गर्न नै सकिँदैन, हामीले जे गरेका छौँ, सही गरेका छौँ । एक भएर अब मधेशका मुद्दालाई हामी राष्ट्रिय राजनीतिमा उठाउने छौँ ।’



 



 

  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार १४:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया