काठमाडौं– गत सोमबार मन्त्रिपरिषद्ले राजनीतिक दल विभाजनलाई खुकुलो बनाउने गरि अध्यादेश ल्याएपछि अहिले देशको राजनीति तरंगित भएको छ । बुधबार र बिहिबारका घटनाहरु यसरी विकास भएका छन् मानौँ, हामी दक्षिण भारतीय कुनै राजनीतिक फिल्म काठमाडौंमा हेरिरहेका छौँ ।
यी घटनाक्रमसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि बढिरहेको छ । विपक्षी दलले मात्र होइन, उनकै पार्टी नेकपाले पनि यो अध्यादेशको विरोध गरेको छ ।
यही अध्यादेशबारे छलफल गर्न नेकपाका सचिवालय सदस्यहरु बिहिबार साँझ भैसेपाटीमा नेकपा उपाध्यक्ष वामदेव गौतमको भेला भएका थिए । भेलामा नेकपा अध्यक्ष प्रचण्डसहित ६ जना सचिवालय सदस्य छलफलमा थिए ।
‘खासमा यो भेला अनौपचारिक थियो, हामीले अनौपचारिक कुराकानी नै गरेका थियौँ,’ बैठकपछि फरकधारसँग कुरा गर्दै नेकपाका एक सचिवालय सदस्यले भनेका छन्, ‘छलफलमा अहिलेको समसामयिक विषयमा नै कुराकानी भएको हो ।’
गौतम निवासको यो भेलामा झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल पनि सहभागी थिए ।
फरकधारसँग कुरा गर्दै ती सचिवालय सदस्यले बैठकमा विष्णु पौडेलले खासै यस विषयमा राय नराखेको बताए । अन्य सबै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल अध्यादेश खारेज गर्न अनुरोध गर्ने कुरामा एकमत भएको उनले जानकारी दिएका छन् ।
‘यसले सरकार र पार्टी दुवैलाई निकै नराम्रो पारेको छ,’ भेलामा भएको कुराकानीबारे नेकपा सचिवालयका ती सदस्यले भने, ‘अहिले न यी अध्यादेश ल्याउने समय हो, न यी अध्यादेशले राजनीतिक स्थिरता कायम गर्न सहयोग गर्छन् भन्ने निष्कर्ष निस्किएको छ ।’
यसका साथसाथै स्थायी कमिटी बैठक बस्नु पर्ने बारे पनि बैठकमा छलफल भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।