‘ओलीले कारवाही होइन, अपहरण गर्नेलाई पुरस्कार दिँदैछन्’

काठमाडौं– शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एउटा रमाइलो जमघट भयो । जमघटमा सहभागी थिए, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । 

समाचारहरुमा आएअनुसार पहिले ओली र देउवाले वान टु वान वार्ता गरेका थिए । पछि त्यही भेटघाटमा पुगेका थिए, प्रचण्ड ।

प्रचण्ड त्यो भेटवार्तामा पुगिसकेपछिको चर्चा केहीबेरमा गरौँला । पहिले सन्दर्भ लिऔँ, देउवा र ओलीको भेटघाटको । 

खासमा यो भेट एउटा अनपेक्षित भेट थियो । शुक्रबार विहानसम्म देउवाले ओलीले ल्याएका दुई अध्यादेशको खरो विरोध गरेका थिए । उनले यसबारे विज्ञप्ति पनि प्रकाशन गरेका छन् । तर, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश फिर्ता लिने निर्णय गर्यो । यो निर्णय शितल निवास अर्थात् राष्ट्रपति निवास पनि पुग्यो । दुवै अध्यादेश खारेज भए ।

दल विभाजनलाई सहज बनाउने अध्यादेशको पाटो एउटा, अर्को अध्यादेश झन् गम्भीर थियो । यसका कारण पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा पनि त्रसित थिए । त्यो अध्यादेश थियो, संवैधानिक निकायमा गरिने राजनीतिक नियुक्तीमा प्रतिपक्षी दलको आवश्यकता नै महसुस नगरिने ।

स्रोतका अनुसार देउवा र ओलीको भेटमा यस विषयमा खासै धेरै कुरा नै भएन । अहिले विश्व महामारी बनेको कोरोनाभाइरस (कोभिड १९) बारे उनीहरुले बढी चर्चा गरे । 



यहीबीच पनि देउवाले बैठकमा समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको प्रसंग चाहिँ झिके । सोमबार दल विभाजनका लागि सहज हुने अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यादवलाई जनकपुरबाट काठमाडौं ल्याइएको थियो । यो अपहरण शैलीमा गरिएको कार्य थियो । र, यसमा संलग्न थिए, नेकपाका सांसद महेश बस्नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल ।

देउवाले भेटमा यी दुईलाई कारवाही गर्नु पर्ने माग राखेको बताइएको छ । ‘सांसदलाई अपहरण गरेर काठमाडौं ल्याइयो रे,’ देउवाले भेटमा भनेका यी शब्दलाई उनीनिकट एक नेताले उद्धृत गर्दै भनेका छन्, ‘तपाईंकै मान्छे त्यसमा संलग्न छन् भन्ने आएको छ, तिनीहरुलाई कारवाही गर्नुहोस् ।’



देउवाले योबाहेक कोरोनाभाइरस संक्रमण रोकथामका लागि अ‍ोली सरकारले गरेका कामहरुबारे पनि चर्चा गरेका थिए । 

तर, देउवासँग प्रधानमन्त्री भेटको यो पहिलो पाटोको चर्चा पहिले गरौँ ।

के अब ओलीले महेश बस्नेत, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल र अर्का सांसद किसान श्रेष्ठलाई कारवाही गर्लान् त ?

हामीले यही प्रश्न नेकपाका एक नेतालाई राखेका थियौँ । उनले आफ्नो नाम नलेखिदिन सुरुमै अनुरोध गरे । अनि भने, ‘किन गर्ने कारवाही, उनीहरुले त ओलीको चाहनालाई पूरा गर्न काम पो गरेका हुन् त ?’

उनले थपे, ‘ओलीले त यसरी अपहरणमा संलग्न महेश बस्नेतलाई पुरस्कार दिन सक्छन्, उनलाई मन्त्रीसमेत बनाउन सक्छन् ।’

अनि सवेन्द्र खनाललाई पनि कुनै राजनीतिक नियुक्ति दिन सकिने तथ्य उनले बताए । अहिले खनाललाई अख्तियारमा आयुक्त बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले वचन दिएको चर्चा चल्न थालेको छ ।

अब लागौँ, प्रचण्ड देउवा र ओलीबीचको बैठकमा पसेपछिको प्रसंगमा ।

स्रोतका अनुसार यी तीनबीच खासै लामो समय पछिल्लो गतिविधिको विषयमा कुरा भएन । प्रचण्ड त्यहाँ पुगिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खासै केही नबताएको स्रोतको दाबी छ । देउवाले पनि यो भेटलाई सहज रुपमा लिएका छन् । यी तीन नेताबीच कोरोनाभाइरसको विषयमा मात्र सामान्य कुराकानी भएको स्रोतको दाबी छ ।
 

 

  • प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार २०:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया