कस्तो छ नेपालमा ३८ कोरोनाभाइरस संक्रमितको अवस्था ?
काेराेनाभाइरसलाई जितेकी नेपाली युवती ।

काठमाडौं– नेपालमा अहिले एक्टिभ कोरोनाभाइरसका केसहरु ३८ वटा छन् । अर्थात् देशका विभिन्न ठाउँमा ३८ जनाको शरीरमा कोरोनाभाइरस (कोभिड १९) छ । नेपालमा अहिलेसम्म भेटिएका ४९ जानमध्ये ११ जना ठिक भएर घर फर्किएका छन् । ११ जना ठिक भएसँगै काठमाडौं उपत्यकामा, सुदूरपश्चिम र गण्डकी प्रदेशमा यसअघि कोरोनाभाइरस संक्रमित भए पनि अब एक्टिभ केसहरु छैनन् । 

झापामा ६२ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण भएको शुक्रबारमात्र पुष्टि भएको छ । योसँगै प्रदेश १ मा मात्र अहिले कम्तिमा पनि २९ जना कोरोनाभाइरस संक्रमित भएको पुष्टि भइसकेको छ । 

शुक्रबार नै नेपालमा कोरोनाभाइरसको विषयमा एउटा खुसीको खबर आएको छ । यो खुसीको खबर हो, बाग्लुङको । बाग्लुङकी १९ वर्षीया अंशु सापकोटा अब कोरोनाभाइरस ठिक भएर घर फर्किएकी छिन् । 

अब बाँकी एक्टिभ केसहरुको अवस्था कस्तो छ त ?

२० प्रतिशतभन्दा बढी कोरोनाभाइरस संक्रमितले नेपालमा कोरोनाभाइरसलाई जितेका छन् । सबैभन्दा पहिले जनवरीमा नै चीनबाट नेपाल फर्किएका एक युवाले कोरोनाभाइरसलाई जितेका थिए । त्यसपछि कोरोनाभाइरसलाई जित्नेहरुको संख्या बढिरहेको छ । नेपालमा सबैभन्दा धेरै दिन अस्पतालमा सुदूरपश्चिममा धनगढीका युवाहरु अस्पतालमा बसेका छन् । उनीहरु २८ दिन अस्पताल बसेपछि डिस्चार्ज भएका थिए । यता, काठमाडौंमा पनि कोरोनाभाइरस संक्रमित एक युवा २८ दिनपछि नै अस्पतालबाट डिस्चार्ज भएका थिए । 

कोरेनाभाइरससँग सम्बन्धित नेपालीले खुसी मान्ने कुरा के भने यसले अहिलेसम्म नेपालमा एउटा पनि निधन भएको छैन । विश्व परिवेशलाई हेर्ने हो भने कोरोनाभाइरस संक्रमित भेटिए पनि एक जनाको पनि निधन नभएका थोरै देशमा नेपाल पर्छ । नेपालमा त ८१ वर्ष र ६५ वर्षका वृद्धाहरुले समेत कोरोनाभाइरसलाई पराजित गरेका छन् ।



अर्कोतिर, विश्वको तथ्यांक हेर्ने हो भने अहिले विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या २६ लाख भन्दा बढी भइसकेको छ । अनि कोभिड १९ का कारण मृत्यु हुनेको संख्या पनि १ लाख ८१ हजारभन्दा बढी भइसकेको छ ।

अहिले विश्वमा २ सय १३ देशमा कोरोनाभाइरसका एक्टिभ केसहरु रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 



यता, नेपालमा बाँकी भएका ३८ जनाको अवस्था पनि सामान्य रहेको छ । उनीहरुमा कोरोनाभाइरसका कारण स्वास्थ्यमा समस्या देखिएको छैन । नेपालमा अहिलेसम्म कुनै पनि कोरोनाभाइरस संक्रमितले आफूमा कडा लक्षण बताएको छैनन् । यसको अर्थ, बाँकी ३९ जनाले पनि आफूमा कुनै लक्षण नदेखिएको बताइरहेका छन् ।
 

 

 

  • प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार ४:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया