भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मास्क लगाउने चलनबारे तीन कुरा बताएका छन् । उनले कार्यक्रम ‘मनकी बात’मा मास्कबारे चर्चा गरेका हुन् । कोरोनाभाइरस महामारी सुरु भएपछि मोदीको तेस्रो मनकी बातमा उनले मास्कको प्रसंग आउँदा आफूले पुरानो कुरा सम्झिने बताएका छन् ।
‘जब म मास्कको कुरा गर्छु,’ उनले भनेका छन्, ‘मलाई पुरानो एउटा सम्झना आउँछ । तपाईंहरु सबैलाई याद पनि होला । एउटा जमाना थियो जतिबेला हाम्रो देशमा केही क्षेत्र यस्ता हुन्थे कि फलफूल किन्दा घरमा कोही बिरामी छ हो भनेर सोधिन्थ्यो ।’
अनि उनले फलफूल बिरामीले मात्र खान्छ भन्ने बुझाइ भारतीय समाजमा त्यति बेला रहेको तर अहिले यो कुरा फेरिएको बताएका छन् ।
त्यसरी नै अब मास्कबारे धारणा पनि बदलिन थालेको उनले बताएका छन् । ‘मास्क अब सभ्य समाजको प्रतीक बन्दैछ,’ उनले भनेका छन्, ‘यदि बिमारीबाट आफूलाई बचाउनु पर्ने छ र अरुलाई पनि बचाउनु पर्ने छ भने मास्क लगाउनु पर्ने हुन्छ ।’ उनले यसलाई आफ्नो सामान्य सुझाव भनेका छन्– गम्छा, मुख ढाक्नुहोस् है ।
कोरोनाभाइरसका कारण बदलिएको यो समाजमा मास्क पनि अब हाम्रो जीवनको हिस्सा बनेको उनले बताएका छन् । अब हाम्रो वरपर मानिस देखिँदा र उनीहरुले मास्क लगाएको देखिँदैमा उनीहरु बिरामी नै भएको भन्न नमिल्ने समय आएको पनि मोदीले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।