जसपा नेताहरुसँग प्रहरी कार्यालय पुगेका यादवकाे ‘अपहरण उजुरी' लिन प्रहरीकाे आनाकानी

काठमाडौं– समाजवादी पार्टी फुटाउने उद्देश्यले उपाध्यक्ष डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको प्रकरणले अब नयाँ मोड लिने भएको छ । 

डा. यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको नयाँ दल जनता समाजवादी दलका नेताहरुसँगै प्रहरीकहाँ पुगेर आफूलाई अपहरण गरिएको भन्दै उजुरी दिएका छन् । यो उजुरी दर्ता गर्दा जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेताहरु पनि यादवसँगै थिए ।

यादवले महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर आफू अपहरणमा परेको र शरीर बन्धक बनाएको भन्दै उजुरी दिन खाेजेका हुन् । तर प्रहरीले याे घटना महाेत्तरीकाे भएकाले उतै उजुरी दिन भनेकाे जनता समाजवादीका नेता बाबुराम भट्टराईले बताएका छन् ।

यसअघि नै समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वद्विप पाण्डेले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सवेन्द्र खनाललाई डा. यादवको अपहरण गरेको आरोप लगाएका थिए । 

अब यी तीनविरुद्ध किटानी जाहेरी दिन लागिएको हो । जाहेरी दर्ता भएको खण्डमा प्रहरीले तीन जनालाई पक्राउ गर्ने छ ।

सांसदद्वय बस्नेत र श्रेष्ठ र पूर्वप्रहरी प्रमुख खनालले यसअघि विभिन्न सन्चारमाध्यममा आफूहरुले डा. यादवलाई काठमाडौं ल्याउन सहजीकरण गरेको बताएका थिए ।



बुधबार राति डा. यादवलाई काठमाडौं ल्याएर होटल म्यारिएटमा छोडिएको थियो । 

बिहिबार विहान उनी आफू घेरा तोडेर बाहिर निस्किएको बताउँदै समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए । 



अर्काेतिर सांसद महेश बस्नेतले पनि याे प्रकरणमा आफ्नाे मानहानी भएकाे भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध उजुरी दिने बताएका छन् ।

 

यो प्रकरणको थप विवरण यसप्रकार रहेको छः

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको एउटा राजनीतिक ‘कू’ असफल भएको छ । प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुमात्र होइन, मन्त्रिपरिषद् बैठकमा अरु कसैको राय नलिई सोमबार अध्यादेश पारित गरे । अध्यादेशको एउटै उद्देश्य थियो, पार्टीहरु विभाजनमा सहज होस् । 

मन्त्रिपरिषद्बाट पारित भएलगत्तै अध्यादेशको विरोध जनाउन र यसले पार्टी नै फुट्ने सम्भावना रहेको भन्दै पूर्वमाओवादीका नेताहरु नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारसमेत पुगेका थिए । 

त्यही दिन नेकपाले सचिवालय बैठक पनि बोलायो । सचिवालय बैठकमा छलफल हुँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश जारी गरिदिइन् । त्यसपछि खासै छलफल नगरी सचिवालय बैठक टुङ्गिएको सोही दिन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

यता, सोमबार जारी भएको अध्यादेशको विषयले बहस उब्जाएको थियो भने, अर्कोतिर नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ पूर्वप्रहरी प्रमुख सहित जनकपुर पुगेका थिए । अध्यादेशले पार्टी सहज रुपमा फुटाउन दिएको थियो भने जनकपुरमा समाजवादी पार्टीका नेता तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई लिन उनीहरु पुगेका थिए । 

बस्नेत, श्रेष्ठ र खनाल जनकपुर जानुको एउटै कारण थियो– यादवलाई काठमाडौं ल्याउने र उनी उपाध्यक्षसमेत रहेको बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउने । 

मंगलबार यी तीन जनकपुर पुगेको जानकारी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पाइसकेका थिए । त्यही भएर उनले अलिक हतार गरेर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकीकरणका लागि अर्का अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरुसँग छलफल गर्न थालिसकेका थिए । यी दुई पार्टीको एकता हुने विषयमा चर्चा एक वर्ष यता चल्दै आएको थियो । दुवै पार्टी नयाँ अध्यादेश आएपछि आफ्नो पार्टी फुट्ने आशंकामा सशंकित थिए ।

बुधबार राति उनीहरुले पार्टी एकता गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा जुटे । 

उता, समाजवादी पार्टीका उपाध्यक्ष डा. यादवको ससुरालीमा पुगे बस्नेत, खनाल र श्रेष्ठ । 

डा. यादव बिहिबार विहान काठमाडौं आइपुग्दा उनको पार्टीको समीकरण पूरै फेरिएको थियो । त्यसपछि उनले न पार्टी फुटाउने बैठकमा सहभागी हुन पाए, न उनको पार्टी फुट्ने नै भयो । 

बरु यी सब प्रकरणका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफूले बल गरेर ल्याएको अध्यादेश फिर्ता गर्न बाध्य भए । यहीबीच डा. सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याइएको प्रकरणले राजनीति तरंगित भएको छ । 

यो तरंग किन पनि बढेको छ भने यो प्रकरणमा संलग्न भएका चार जनाले विभिन्न सन्चारमाध्यममा दिएका अभिव्यक्ति फरक फरक छन् । अनि सत्तारुढ नेकपाका नेताहरुले नै यो कामप्रति आपत्ति जनाएका छन् । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि यसको विरोध गर्दै यस्तो कार्यमा संलग्न सांसदहरुलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले यो अनुरोध प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाटमा गरेका हुन् ।

भीम रावललगायत अन्य नेकपा नेताहरुले पनि सार्वजनिक रुपमा नै डा. यादवलाई काठमाडौं ल्याउने प्रकरणमा संलग्नहरुलाई कारवाही गर्न माग गरेका छन् । तर, यो मागको सम्बोधन केपी शर्मा ओलीबाट हुने सम्भावना नै कम छ । 

यसका लागि प्रधानमन्त्री ओली, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ अनि सर्वेन्द्र खनालको सम्बन्धबारे चर्चा गर्नु पर्ने हुन्छ । 

पछिल्लो समय चलेका ‘हल्ला’हरुलाई आधार बनाउने हो खनाल यो काममा संलग्न हुनुको कारण उनलाई प्रधानमन्त्री ओलीले कुनै नियुक्ति दिन्छु भन्ने वचन हो । स्रोतका अनुसार उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूत बनाउँछु भन्ने वचन दिएका थिए ।

यही वचनसहित मंगलबार नै खनाललाई डा. यादवलाई काठमाडौं ल्याउन समन्वय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको आग्रह पछि खनालले सांसद किसान श्रेष्ठलाई फोन गरे । 

किसानले अर्का सांसद महेश बस्नेतलाई फोन गरे । 

अनि बस्नेत पनि यो अभियानमा संलग्न हुन तयार भए । 

पछिल्लो समय मिडियाहरुमा बस्नेत, श्रेष्ठ र खनालले बारम्बार आफूहरुले डा. यादवलाई अपहरण नगरेको भन्दै विभिन्न तर्क गर्दै आएका छन् । तर, डा. यादवले प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा रुँदै भनेका छन्, ‘म काठमाडौंसम्म कसरी आइपुगेको हुँ भन्ने मलाई मात्र थाहा छ, मलाई यसरी ल्याउनु भन्दा सुट गरिदिएको भए हुन्थ्यो ।’

अनि समाजवादी पार्टीका नेताहरुले पनि यसलाई ‘अपहरण’को संज्ञा दिएका छन् । सबैभन्दा पहिले डा. यादवको अपहरण भएको दाबी समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वद्विप पाण्डेले गरेका थिए ।

अब लागौँ, यो प्रकरणमा महेश बस्नेत किन जोडिए भन्ने सन्दर्भमा ।

नेपाल कम्युनिस्ट पार्टीमा प्रधानमन्त्री ओलीनिकट एक नेता बताउँछन्, ‘यो सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले महेशजीलाई संलग्न गराउने सोच्नु पनि भएको थियो भन्ने लाग्दैन । महेशजी र प्रधानमन्त्री ओलीजीको सम्बन्ध केही समय यता बिग्रिएको छ, उहाँहरुले फेस टु फेस मात्र होइन, फोनमा समेत संवाद नभएको कम्तिमा पनि एक वर्ष भइसकेको छ ।’

तर, यसअघि बस्नेत र ओलीको सम्बन्ध निकै समुधुर थियो । बस्नेत ओलीलाई ‘बा’ भन्ने गर्थे, ओली बस्नेतलाई आफ्नै छोरासरह भएको बताउँथे । सुशील कोइराला प्रधानमन्त्री भएको समयमा बस्नेतलाई ओलीले सप्राइज गिफ्ट पनि दिएका थिए– उद्योगमन्त्री । 

तर, ओलीले नेतृत्व गरेको यसपटकको मन्त्रिमण्डलमा समयसमयमा चर्चा भएर पनि बस्नेत रोजाइमा पर्न सकेका छैनन् । यसको कारण पछिल्ला ‘केही गतिविधि’ कारण भएको ती नेताले फरकधारलाई बताए । 

‘पछिल्लो पटक कोरोनाभाइरसका कारण देशमै लकडाउन भएपछि पनि प्रधानमन्त्री ओली बस्नेतसँग रुष्ट छन्,’ ती नेताले भने, ‘कतिसम्म भने प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय सदस्यलाई बस्नेतलाई बालुवाटारमा छिर्न नदिनसमेत निर्देशन गरेको बुझिएको छ ।’ उनका अनुसार यसको कारण चाहिँ बस्नेतले एक पत्रिकामा ‘केपी ओली खराब मान्छेहरुबाट घेरिएको र कोरोनाभाइरसबारे पनि उनलाई गलत सूचना दिएकाले सरकार चुकेको’ भन्ने आशयमा अन्तर्वार्ता दिनु हो । 

‘ए, मलाई घेरिएको छ रे,’ प्रधानमन्त्रीले आफ्ना सल्लाहकार तथा सचिवालयमा भनेको कुरालाई ती नेताले उद्धृत गरे, ‘उसलाई यहाँ वरपर मात्र होइन, लाजिम्पाट तिर नै आउन बन्द गराइदिनू ।’

यो सब प्रकरणबारे बस्नेत पनि जानकार छन् । त्यसैले उनी यो प्रकरणमा किसान श्रेष्ठको कल आएलगत्तै जोडिए । स्रोतका अनुसार डा. यादवलाई आफ्नो नियन्त्रणमा लिइसकेपछि किसान श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सम्पर्क गरेका थिए । अनि बल्ल उनले आफूहरुसँग बस्नेत पनि भएको बताएका थिए । 

‘सायद, प्रधानमन्त्री ओलीकै चाहनामा पार्टी फुटाउने भन्ने भएको र यसमा चान्स लिएर प्रधानमन्त्रीसँग फेरि नजिक हुने चाहना महेशजीको थियो,’ ती नेताले भने, ‘तर, उनी फेरि फेल खाएका छन् । यो घटनाले गर्दा उनको प्रधानमन्त्री ओलीसँग दूरी थप बढ्ने देखिन्छ ।’

त्यसो त बस्नेतले काठमाडौंबाट सन्चालन हुने एभिन्युज टेलिभिजनमा शनिबार विहान दिएको अन्तर्वार्तामा पनि बारम्बार आफ्नो र केपी ओलीको सम्बन्ध बिग्रिएको भनेर दुष्प्रचार गरिएको बताएका छन् । त्यसमा उनले दाबी पनि गरेका छन्, ‘डा. यादवलाई काठमाडौं ल्याउनु भन्ने घटनामा मलाई प्रधानमन्त्रीबाट केही भनिएको थिएन ।’

 


  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार १६:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया