काठमाडौं— प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेलालाई चर्को बढाएका छन् । आइतबार दिउँसो देखि नै प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफू निकट नेताहरुलाई बोलाएर आफ्नो बाध्यता बुझाउने प्रयास गरेका छन् ।
पछिल्लो पटक पार्टीमा समेत छलफल नगरी दल विभाजन गर्न सहज हुने र संवैधानिक नियुक्तीका लागि विपक्षी दलसँग समेत सल्लाह गर्न नपर्ने दुई अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली पार्टीमा एक्लिएका छन् । सचिवालयका अधिकांश सदस्य नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएपछि प्रधानमन्त्री ओलीले भेटघाट बढाएका हुन् ।
यही परिस्थिति उत्पन्न भएपछि ओलीलाई ‘फेरि बलियो बनाउन’ प्रदेश ५ का मुख्यमन्त्री समेत काठमाडौं आइपुगेका छन् । स्रोतका अनुसार पोखरेल, परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलगायत नेताहरुसँग छलफलमा भएकाले नै प्रधानमन्त्री अोलीले आज दिउँसो तय भएको मन्त्रिपरिषद् बैठक साँझका लागि सारेका थिए ।
पोखरेल र ज्ञवाली अहिले ओलीलाई पार्टीमा फेरि पहिलेको नै स्थानमा ल्याउन सक्रिय भएर लागिरहेका छन् । रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पनि यसमा समन्वयकारी भूमिका खेलिरहेका छन् ।
बालुवाटार स्रोतका अनुसार आज साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर परराष्ट्रमन्त्री ज्ञवाली माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन् । ओलीले नेपाललाई आफ्नो पक्षमा ल्याउन पाएमा अहिलेको समीकरणमा आफू पुनः फर्किन पाउन भन्ने सोच बनाएका छन् । स्रोतका अनुसार यसका लागि उनले नेपाललाई आगमि अध्यक्ष बनाउने वचनसमेत दिने भएका छन् ।
‘जसरी हुन्छ माधवकुमार नेपाललाई अहिले आफ्नो पक्षमा पार्न ओली अगाडि बढेका छन्,’ नेकपाका एक केन्द्रीय सदस्य बताउँछन्, ‘माधवकुमार नेपालले अहिले सहज बनाइदिए अरु कुराहरुमा आफूले सहयोग गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिन थालेका छन् ।’
अहिले तत्काल स्थायी समितिको बैठक बोलाउन दबाब नदिने अनुरोधका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई कोटेश्वर पठाएका थिए । तर, ज्ञवालीसँगको भेटमा नेपालले यो प्रस्तावलाई अस्वीकार गरिदिएको स्रोतको दाबी छ ।
‘अब स्थायी समिति बैठक बस्यो भने ओलीलाई थप समस्या हुने निश्चित छ,’ नेकपाका ती सदस्यले भने, ‘यही विषयमा प्रचण्ड पनि आफ्नो गुटका नेताहरुसँग तीव्र छलफलमा व्यस्त छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।