आइतबार अबेर राति राष्ट्रपति–प्रधानमन्त्री छलफल, नयाँ कदम चालिँदै छ ?
फाइल तस्वीर ।

काठमाडौं– ठ्याक्कै एक साताअघि सोमबार मन्त्रिपरिषदमा एकोहोरो अडान लिएर पारित भएका दुई अध्यादेशका कारण प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र निकै दबाबमा परेका छन् । 

पार्टी सचिवालयका अधिकांश सदस्य ओलीको यो कदमबाट रुष्ट भएपछि राष्ट्रपतिबाट समेत जारि भइसकेका दुवै अध्यादेश खारेज भए । तर, नेकपामा यी दुई अध्यादेशको निहुँमा जन्मिएको ‘कलह’ यत्तिकै सामसुम होला जस्तो देखिँदैन । 

यस्तो किन पनि भने पछिल्ला दिनमा नेकपामा नेताहरुबीच भेटघाट निकै तीव्र भइरहेको छ, गुटगत भेलाहरु बाक्लिँदै गएका छन् । यही सन्तुलन मिलाउन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि बलियो बनाउन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तीन दिनदेखि काठमाडौंमा छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ओलीको सन्देश लिएर भेटघाटमा व्यस्त छन् । रक्षामन्त्री ईश्वर पोखरेल पनि नेकपा नेताहरुसँग भेटघाटमा व्यस्त छन् । 

यहीबीच एक सातामा मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच तीन पटक भेट भइसकेको छ । सबैभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओली गत सोमबार अध्यादेश जारी भएपछि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यसको दुई दिनपछि उनी फेरि शितल निवास पुगेका थिए । 

अब आइतबार राति पनि उनी र राष्ट्रपतिबीच डेढ घन्टा भन्दा लामो छलफल भएको बताइएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री दुवैको यी दुई अध्यादेशका कारण संकट बढ्दै गएको छ । प्रधानमन्त्री ओलीलाई पार्टीभित्रै एक्ल्याउने प्रयास गरिएको छ भने राष्ट्रपतिले पनि नेकपामा पनि ओलीको मात्र कुरा सुनेको भन्दै आलोचना गर्न थालिएको छ । त्यसैले यो समयमा ओली र भण्डारीबीचको यो भेटले राजनीतिक बजारमा तरंग ल्याइदिएको छ । 



अनि राजनीतिक बजारमा मध्यावधि निर्वाचन तथा संसद विघटनजस्ता कदम कतै ओलीले चाल्ने त होइनन् भन्ने पनि अड्कल गर्न थालिएको छ ।

तर, प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेट र त्यहाँ भएको छलफलबारे अहिलेसम्म बाहिर केही बताएका छैनन् । 



बरु आइतबार नै बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रीहरुसँग ठट्टा गरेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ओलीले आइतबारको बैठकमा भनेका थिए– अब मलाई त पार्टीबारे केही थाहा नहुने भयो क्यारे, तपाईंहरुलाई थाहा होला कि ?
 

 

  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार ४:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया