काठमाडौं– पछिल्ला केही दिन यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको रस्साकस्सी थप बढ्ने देखिन्छ । नेताहरुले गुटगत भेलालाई थप बढावा दिन थालेपछि यो रस्साकस्सी बढ्ने देखिएको हो ।
दुई अध्यादेश ल्याएको चार दिन पछि नै फिर्ता लिन बाध्य भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली यो रस्साकस्सीमा कमजोर देखिएका छन् । तर, उनले नेकपा नेता माधवकुमार नेपाललाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन् । उनले अहिले माधवकुमार नेपालले आफ्ना सर्त मानेमा अब हुने महाधिवेशनमा अध्यक्षमा उनलाई साथ दिने वचन पनि दिएका छन् ।
तर, ओलीको यो प्रस्तावलाई माधवकुमार नेपालले अस्वीकार गरिदिएका छन् । उनी अब ओलीसँग उधारोमा सम्झौता नगर्ने पक्षमा पुगेका छन् । यसअघि पनि बारम्बार आफूले धोका पाएको भन्दै यसपटक उधारो आश्वासनलाई नमान्ने निर्णय माधवकुमार नेपाल र उनको गुटका नेताहरुले गरेका छन् ।
माधवकुरमा निकट एक नेकपा नेताअनुसार आइतबार नेपाल निवास कोटेश्वरमा भएको गुटगत भेलाले पनि यही निष्कर्ष निकालेको छ ।
‘अलिक पहिले देखि नै कमरेड ओलीमा समस्या देखिएको हामीले महसुस गरेका थियौँ, उहाँ पार्टीको विधानलाई मिचेर आफूलाई सर्वेसर्वा ठानिरहनु भएको थियो,’ ती नेताले फरकधारसँग आइतबार अबेर साँझ कुरा गर्दै भनेका छन्, ‘यसपटक उहाँले अलिक बढी नै गर्न खोज्नु भयो । त्यसैले हामीले पहिले देखि नै राख्दै आएको मागमा अब अडिग रहने निष्कर्ष निकालेका छौँ ।’
नेपाल र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट २० स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटी बैठक बोलाउन आग्रह गर्दै केही दिनअघि अध्यक्ष ओलीलाई पत्र लेखेका थिए । तर, अहिले आफू कमजोर भएको महसुस गरिसकेका ओली स्थायी कमिटी बैठक बोलाउने मुडमा छैनन् । उनले अहिले तत्काल स्थायी कमिटी बैठक बोलाउन नपर्ने वातावरण बनाउन माधवकुमार नेपाललाई अनुरोध गरेका छन् ।
स्रोतका अनुसार यो सन्देश लिएर आइतबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल निवासमा पुगेका थिए । त्यसअघि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, रक्षामन्त्री ईश्वर पोखरेलले पनि माधवकुमार नेपालसँग यही सर्त अगाडि ल्याउँदै कुरा गरेका थिए । ‘यही कुरा पछिल्लो पटक ओली कमरेड र माधव कमरेडबीच भएको भेटघाटमा पनि भएको थियो,’ ती नेताले भने, ‘तर, अहिले पार्टीलाई सुधार गर्न पर्ने समय भएकाले यस्तो प्रस्ताव हामी मान्ने पक्षमा छैनौँ ।’
नेकपामा ओलीनिकट मानिने अर्का एक नेताले चाहिँ माधवकुमार नेपालले अन्ततः ओलीको प्रस्तावलाई साथ दिने विश्वास सबैले लिएको बताएका छन् । ‘उहाँ अध्यक्ष प्रचण्डभन्दा त अध्यक्ष ओलीसँग नै नजिक हुनुहुन्छ नि,’ उनले भने, ‘पार्टीमा हिजो पनि ओली कमरेडले आवश्यक परेको समयमा माधव कमरेडलाई सहयोग गर्नु भएकै हो ।’
तर, माधव नेपालको निवासमा भएको छलफलमा नेताहरुले नेपाललाई तत्काल स्थायी कमिटी बैठक बोलाउने कुराबाट पछाडि नहट्न सुझाव दिएका छन् ।
माधव नेपालले पनि पहिले देखि नै उठाएर आइरहेको एक नेता, एक पदको सिद्धान्तलाई अब कार्यान्वयन गर्ने समय आएको सन्देश प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको दाबी ती नेताले गरेका छन् । ‘यो निकै पहिले देखिको माग हो,’ ती नेताले भने, ‘अब स्थायी कमिटी बैठकमा पनि यस विषयमा कुरा उठ्छ र छिनोफानो हुन्छ ।’
नेपाल पनि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नु पर्ने मागमा अडिग रहेका छन् । उनले यसअघि पनि बारम्बार यही मागलाई राख्दै आएका थिए ।
अहिले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद नछोड्ने र पार्टीमा प्रचण्डसहित आफू अध्यक्ष हुने चाहनामा माधवकुमार नेपाल छन् । नेकपा अध्यक्ष प्रचण्डले नेपालको यो मागमा ग्रिन सिग्नल दिएका छन् । नेकपाका अर्का नेता झलनाथ खनालले पनि नेपालको यो मागमा आपत्ति जनाएका छैनन् ।
‘एक व्यक्ति एक पद कार्यान्वयन गर्दा भोलि जे पनि हुनसक्छ, तर यो कार्यान्वय प्रधानमन्त्रीका लागि मात्र होइन, पार्टीका अरु पोजिसनका लागि पनि हो, मुख्यमन्त्रीहरुका लागि पनि हो,’ नेपाल निकट ती नेताले भने, ‘पार्टीमा राम्रो विधि स्थापित गर्दा जसले जे गुमाउन परेको खण्डमा पनि त्यसलाई सकारात्मक नै लिनु पर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।