विष्णु पौडेल दिनभर बालुवाटारमा !

काठमाडौं– पछिल्ला केही दिन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद अब चरम उत्कर्षमा पुगिसकेको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अब ‘वार र पार’को मनस्थितिमा पुगेको केही नेताहरुले बताउन थालेका छन् । 

त्यसो त पार्टीका अर्का अध्यक्ष तथा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खानाल, उपाध्यक्ष वामदेव गौतम पनि यही मनस्थितिमा पुगेको बताइएको छ । यही कारण पनि एउटा कित्तामा देखिएका यी चार नेता र ओलीबीच र उनीहरुका प्रतिनिधिबीच अहिलेसम्म सम्झौता हुन सकेको छैन । 

यहीबीच नेकपामा सचिवालयमा पनि केपी ओलीले बहुमत गुमाएको चर्चा हुन थालेको छ । हुन पनि चार नेता एकातिर देखिएपछि यो अनुमान गरिनु सही हो । त्यसैले अब ओली समूह पनि संसदीय दलमा आफ्नो बहुमत पुर्याउन प्रयासरत छ । मंगलबार मात्र प्रधानमन्त्री ओलीले केही सांसदहरुलाई बोलाएर पार्टी फुट्न पनि सक्ने भन्दै मानसिक रुपमा तयार रहन अनुरोध गरेका थिए । 

नेकपामा भएको यही रस्साकस्सीबीच यसअघि प्रधानमन्त्री ओलीका खास निकट मानिएका नेकपा महासचिव विष्णु पौडेल प्रचण्ड–माधव खेमामा गएको समाचार आउन थालेका थिए । 

त्यसो त केही दिनअघि नेकपा उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको सचिवालय सदस्यहरुको भेलामा पौडेल पनि पुगेका थिए । ओलीविरुद्धको यो भेलामा उनको सहभागिताले नेकपामा अर्कै खालको तरंग उत्पन्न गराएको थियो । कतिपयले पौडेलले अब ओली क्याम्प छाडेर माधव वा प्रचण्ड क्याम्प रोजेको समेत विश्लेषण गरे । 

तर, यी सब विश्लेषण तथा अनुमानविपरित पौडेल अहिले पनि ओली क्याम्पमा नै रहेको दाबी ओलीनिकट नेताहरुले गर्न थालेका छन् । र, यो अनुमान गर्नुको कारण हो– उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट हुनु । 



त्यसो त मंगलबार पनि नेकपा महासचिव पौडेल दिनभर बालुवाटारमा प्रधानमन्त्री ओलीसँग रहेको एक नेकपा सांसदले फरकधारलाई बताएका छन् । ‘उहाँ आज (मंगलबार) दिनभर बालुवाटारमा नै हुनुहुन्थ्यो,’ ती सांसदले फरकधारलाई बताए, ‘त्यसैले उहाँले गुट फेरेको भन्ने लाग्दैन । उहाँ त पछिल्लो रणनीति कसरी विकास गर्ने भन्ने विषयमा छलफलमा हुनुहुन्छ ।’
 



  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ०:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया