फरकधार डिटेल
मंगलबारको बालुवाटार डायरीः ओलीले प्रचण्डलाई भने– तपाईं आफ्नो बाटो हिँड्नुस्, म आफ्नो बाटो हिँड्छु
फाइल तस्वीर ।

काठमाडौं– सत्ता र शक्ति पाउन र यथावत राख्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको नेताहरुबीचको खिचातानी अब चरम उत्कर्षमा पुगेको छ । पार्टीका नेताहरु एकअर्कासँग कस्तोसम्म अवस्थामा पुगेका छन् भने एकले अर्कोलाई अब छुट्टै बाटो हिँड्न चेतावनी समेत दिन थालेका छन् ।

प्रसंग हो, मंगलबार दिनभर बालुवाटारमा भएका भेटघाट र छलफलको । 

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा आफूविरुद्ध षडयन्त्र भएको भन्दै पार्टीका नेताहरुका मागलाई ‘सम्बोधन’ गर्ने तर आफ्नो पद जोगाउने अभियानमा लागेका छन् । गत सोमबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट पार्टी फुटाउन सहज हुने अध्यादेश पारित गरेपछि नेकपाभित्रको कलह सतही रुपमा बाहिर आएको हो ।

आइतबार र सोमबार विभिन्न नेताहरुसँग ओली र उनको समूहको बैठक हुँदा पनि कुनै निष्कर्ष ननिस्किएपछि मंगलबार केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग मात्र होइन, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बालुवाटारमा निकै लामो छलफल गरे । प्रचण्डसँगको छलफल सकिएलगत्तै उनले बालुवाटारमा आफूनिकट सांसदहरुलाई बोलाएका थिए । 

त्यो छलफलमा ओली निकै भावुक भएको र सांसदहरुलाई जस्तो सुकै परिस्थितिको सामाना गर्न तयार रहन निर्देशन दिएको छलफलमा सहभागी एक सांसदले फरकधारलाई बताए ।

त्यही बिफ्रिङमा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटको प्रसंग पनि निकालेका थिए । ‘सहमतीमा नआउने हो भने तपाईं आफ्नो बाटो हिँड्नुस्, म आफ्नो बाटो हिँड्छु,’ ओलीले प्रचण्डलाई भनेँ भन्दै सुनाएको कुरालाई ती सांसदले उद्धृत गरे, ‘मैले काम गर्दा पनि पार्टीले बुझेन ।’



प्रधानमन्त्री ओलीले मंगलबार विहान आफूनिकट नेताहरु शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसँग बालुवाटारमा विहान नै छलफल गरिसकेका थिए ।

यही छलफल पछि उनले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई बालुवाटारमा बोलाएका थिए ।



त्यसपछि भएको आफूनिकट सांसदहरुको बैठकमा उनले सुरुमै भने, ‘मलाई पार्टीका नेताहरुले नै काम गर्न दिएनन्, मैले सरकारमा बसेर ७५ प्रतिशत समय अरु कुरामा लगाउनु परेको छ । मैले काम गर्न पाइनँ ।’

उनले आफूले निकै दुःख र संघर्ष गरेर पार्टी यहाँसम्म ल्याइपुर्याएको तर पार्टी एकता प्रक्रियामा अरु नेताहरुले यो र त्यो भन्दै आफूलाई अलमलमा राखेको पनि बताएका थिए । 

त्यसपछि प्रधानमन्त्री ओलीले एमाले र एमाओवादीबीचको एकता प्रक्रियाको सुरुवाती चरण सम्झिएँ । ‘मलाई पहिले नै साथीहरुले एकता नगरौँ, उनीहरुले घर पनि बनाउन दिँदैनन्, घर पनि बनाउँदैनन् भनेका थिए,’ ओलीले छलफलमा भने, ‘तर, मैले कम्युनिस्ट पार्टी एक बनाऔँ, देशमा राजनीतिक अस्थिरताले भयो, देश खत्तम भयो भनेर अरु सबैका कुरा सुनिनँ ।’

आफूले देशमा स्थिरता कायम गर्न खोज्दा पनि अवसरवादीहरुले मौका छोपेर आफूलाई काम गर्न नदिएको प्रधानमन्त्री ओलीको गुनासो थियो ।

‘आफ्नै पार्टीका साथीहरुले मलाई साथ दिएनन्,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तर, मैले आफ्नै साथीहरु हुन् भनेर यो कुरा कसैलाई भनिनँ ।’

सरकारका काममा पार्टीबाट भएका हस्तक्षेपबारे पनि प्रधानमन्त्री ओलीले यो बिफ्रिङमा खुलेर कुरा गरेका थिए ।

‘डिएसपी सरुवा भएन भनेर रिसाको छ, कसको प्रमोसन भनेको छ, सचिवको सरुवा भनेको छ,’ उनले भने, ‘प्रहरी र सचिवको सरुवा मैले हेर्ने हो कि पार्टीले गर्ने हो ? पार्टीले सरकार चलाउने हो कि के हो ?’

यति भनिसकेपछि प्रधानमन्त्री ओली केहीबेर रोकिए । अनि भने– म त छक्क परेको छु ।

उनले आफू सरकारमा जानुमा पार्टीको ठूलो योगदान भएको सम्झँदै अब पार्टीले सरकारका काममा अनावश्यक हस्तक्षेप गर्न नहुने बताएका थिए । ‘सरकारलाई त काम गर्न दिन पर्यो नि,’ उनले भने, ‘मैले निकै सहेँ, सहँदासहँदा यहाँसम्म आएँ ।’

उनले पार्टीमा संकट आउन सक्छ भन्ने सोचेर यसअघि यी सब कुरा कसैलाई पनि नभनेको पनि छलफलमा बताए । ‘फेरि सुध्रिएला नि त भन्ने पनि मनमा थियो,’ उनले भने, ‘तर, अब यो नहुने रहेछ, धैर्यधारण गर्ने समय नै भएन ।’

त्यसपछि बल्ल प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुलाई ‘मेन्टल्ली प्रिपेयर’ हुन भनेका थिए ।

‘देश बनाउने कि ध्वस्त बनाउने भन्ने हो,’ ओलीले बैठकमा भने, ‘देशलाई हृदयमा राखेर, जनतालाई शीरमा राखेर अगाडि बढ्नु, तपाईंहरुको चेतना र विवेक प्रयोग गर्नु, देश र पार्टीको झन्डा बोकेर भावना बुझ्नु र हामी एउटै नेपाली हौँ, एक नेपाली हौँ भन्ने नबिर्सिनू ।’

त्यसपछि ओलीले सांसदहरुलाई आफूहरु अल्पमतमा नभएर बहुमतमा भएको पनि बताए । 

उनको कुरा सकिएपछि बालुवाटारमा सांसदहरुले उनलाई सल्लाह दिए– जे पर्छ, सामना गर्न तयार हुनुहोस्, हामी तपाईंको पक्षमा छौँ, तपाईंलाई कसैले हराउन सक्दैन, सत्यको सधैं जित हुन्छ ।
 

  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार ५:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया