गण्डकी — गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा खटिने चिकित्सकको स्वास्थ्य बिमा गरिदिने भएको छ । मंगलबार बसेको बैठकले प्रतिव्यक्ति ३० लाखका दरले बिमा गरिदिने निर्णय लिएको हो ।
ड्युटीमा खटिएका बेला चिकित्सक बिरामी भए सरकारले नै उपचार गरिदिने र मृत्यु भए परिवारलाई बिमा रकम उपलब्ध गराइने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
बैठकले सशक्त अनुदानका लागि संघीय सरकारसँग १० वटा योजना थप्न अनुरोधसमेत गरेको छ । तिनमा गण्डकी प्रदेशमा सरुवा तथा संक्रमित रोग उपचारका लागि अस्पताल, प्रदेशस्तरीय शिक्षा र अस्पताल, गण्डकी प्राविधिक प्रतिष्ठान निर्माण आयोजना, प्रदेश सदरमुकाम पोखरादेखि स्थानीय पालिकाको केन्द्र जोड्ने योजना, पोखरा महानगर रिङरोड आयोजना, कास्की र तनहुँको तल्लो पुडीटारमा औद्योगिक क्षेत्र निर्माण, नवलपुरको लोकाहाखोलामा प्रदेशको औद्योगिक क्षेत्र निर्माण आयोजना, फेवातालको संरक्षण र सौन्दर्यीकरण गर्ने, पर्यटन पुनरुत्थान कार्यक्रम छन् ।
यसरी नै प्रत्येक जिल्लामा खाद्य बैंकको भौतिक संरचना निर्माण गर्न सशक्त अनुदान माग गरिएको प्रवक्ता बस्नेतले बताए । उनका अनुसार गण्डकी प्रदेश विकास परिषद्ले सिफारिस गरेको प्रथम पञ्चवर्षीय योजना स्वीकृतसमेत गरिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य बिमा सहयोग संयोजक समिति गठन गरिएको छ । ५ सदस्यीय उक्त समितिको संयोजक सामाजिक विकास सचिव रहनेछन् । यसै गरी गण्डकीका ११ वटै जिल्लाका अस्पतालमा आईसीयू वार्ड बनाउन रकम विनियोजन गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।