अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा बुधबार चीनले उनी दोस्रोपटक अमेरिकी राष्ट्रपति नहोस् भन्ने चाहेको बताएका छन् । ‘चीनले मलाई दोस्रोपटक राष्ट्रपति भएको देख्न चाहँदैन,’ उनले भनेका छन्, ‘उसले कोरोनाभाइरस महामारी जुन तरिकाले ह्यान्डल गरिरहेको छ, त्यो नै यसको प्रमाण हो ।’
उनले चीनले चाहेको खण्डमा कोरोनाभाइरस महामारी समयमा नै नियन्त्रणमा आउन सक्ने पनि बताएका छन् । उनले नोभेम्बरमा हुने निर्वाचनमा आफूलाई पराजित गर्न वा रोक्न चीनले जे पनि गर्न तयार रहेको बताएका छन् ।
त्यसो त ट्रम्पले कोरोनाभाइरस विश्वव्यापी रुपमा फैलिनुमा नै चीन जिम्मेवार भएको सधैं आरोप लगाउँदै आएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसका साथसाथै त्यहाँको अर्थतन्त्र पूरै डामाडोल भएको मात्र छैन, बेरोजगारी पनि ऐतिहासिक रुपमा सबैभन्दा बढी भएको छ ।
कोरोनाभाइरसले अमेरिकामा गरेको यो विध्वंसका लागि राष्ट्रपति ट्रम्पमाथि बारम्बार प्रश्न उठिरहेको छ । उनले यसलाई गम्भीर भएर नलिएको बताउँदै आइएको छ । उनी समयमा नै सक्रिय भएको भए अमेरिकामा यो अवस्था नआउने धेरैले बताउन थालेका छन् ।
के अब ट्रम्पले चीनमाथि कोरोनाभाइरसका कारण ट्यारिफ लगाउलान् ?
‘कयौँ कुराहरु छन् जसलाई म गर्न सक्छु,’ उनले जवाफ दिएका छन् ।
ट्रम्पले त कोरोनाभाइरसलाई नै पहिले चिनियाँ भाइरससमेत भनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।