निर्वाचनसम्म प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्षबाट राजीनामा नदिने ओलीको अडान
फाइल तस्वीर ।

पछिल्ला दिनमा बढ्दै गएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रका विवादहरु अझै केही समय रहिरहने संकेत देखिएको छ । विशेषगरि पार्टीभित्र दुई खेमाको ठूलो प्रतिस्पर्धा देखिन्छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको यो जुहारीमा प्रचण्ड खेमालाई प्रधानमन्त्री ओलीका लामो समयका ‘राइभल’ माधवकुमार नेपाल पक्षले पनि साथ दिएको छ ।

यतिमात्र होइन, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नै माग गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वामदेव गौतम पनि प्रचण्ड पक्षमा देखिएका छन् । 

बुधबार बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जारी विवाद अन्त्य गर्ने हेतुले एउटा तुरुप फालिदिएका छन् । उनले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री र नेकपामा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् । योसँगै नेकपाको विवाद केही मत्थर हुने विश्वास धेरैले लिएका छन् । 

तर, प्रधानमन्त्री ओलीको यो आश्वासन अहिले यत्तिकै टार्नका लागि भएको भन्दै माधव नेपाल समूहले असन्तुष्टि जनाइसकेको छ । अर्कोतिर अहिले गौतमलाई प्रधानमन्त्री बनाउन पनि सम्भव देखिएको छैन । उनले कुनै निर्वाचन क्षेत्रबाट गौतमालाई चुनावमा उठाएर, जिताएर अब प्रधानमन्त्री बनाउने तुरुप फालेका हुन् । राष्ट्रिय सभामा लगेर पनि उनलाई प्रधानमन्त्री बनाउने बाटोबारे यसअघि चर्चा भएको थियो तर यसमा संविधान संशोधन गर्नु पर्ने भएकाले तत्काल सम्भव देखिँदैन ।

एकातिर वामदेव कार्डलाई सतह र चर्चामा ल्याइदिएका ओलीले अर्कोतिर आफ्नो पक्षका सांसदहरुलाई भेट्न र कन्भिन्स गरेर आफ्नो पक्षमा अझ धेरै सांसदलाई ल्याउन अनुरोध गर्न छोडेका छैनन् ।

बिहिबार दिनभर पनि प्रधानमन्त्री ओली आफ्नो पक्षमा सांसदहरुको हस्ताक्षरलाई बढाउन लागिरहेका थिए । कतिपय सांसदहरुलाई उनी स्वयंले फोन गरेर बालुवाटार बोलाएको पनि स्रोतको दाबी छ । 



अनि त्यस्ता बिफ्रिङहरुमा उनले आफूले तत्काल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा नदिने पनि बताउन थालेका छन् ।

‘उहाँको धारणा के छ भने निर्वाचन जितेर जनताले म्यान्डेट दिएर प्रधानमन्त्री बनेको हुँ,’ उनीनिकट एक सांसदले भनेका छन्, ‘त्यसैले अहिले उहाँले राजीनामा दिनेबारे केही सोच्नु भएको छैन । अबको निर्वाचनमा म्यान्डेट नपाए उहाँ स्वतः हट्नुहुन्छ । उहाँले पार्टीका नेताहरुले असहयोग गरेको निष्कर्ष निकाल्दै अहिले नै राजीनामा नदिने बताउनु भएको छ ।’



उनको पार्टी नेकपाले चाहिँ ओलीले प्रधानमन्त्रीबाट मात्र नभएर पार्टीको अध्यक्षबाट पनि राजीनामा दिने माग गर्न थालेको छ । केही दिनमा बस्ने सम्भावना रहेको स्थायी समिति बैठकमा पनि यस विषयमा आवाज उठ्ने अनुमान भएको छ । 

‘उहाँ महाधिवेशनबाट जितेर आएकाले यो पनि सम्भव छैन,’ ती नेताले फरकधारसँग भनेका छन्, ‘उहाँले पार्टीबाट अध्यक्ष पद छोड्न परेको खण्डमा महाधिवेशन हुनुपर्छ र उहाँले हार्नुपर्छ ।’ 

ओलीले यही जानकारी सांसदहरुलाई दिँदै आएको पनि ती नेताले जनाएका छन् ।
 

 

  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार २२:५२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया