मे दिवसमा प्रधानमन्त्रीः अब सरकारको बाटो– आजका लागि स्वास्थ्य, भोलिका लागि शिक्षा

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग परिवर्तनको संवाहक भएको धारणा राखेका छन् । उनले हिजोको सशस्त्र युद्धका कारण गाउँबाट सहर आएका र सहरबाट पलायन भएर विदेशमा जानु परेको विषयमा आफू दुखी भएकोसमेत बताएका छन् । उनले श्रमजीवी वर्ग समस्याको आफैं सामना गर्न सक्ने वर्ग रहेको पनि बताएका छन् ।

उनले सबै मजदूर तथा श्रमिकका समस्या तथा सबै आयामहरुमा आफ्नो ऐक्यबद्धता रहेको पनि बताएका छन् । 

श्रमिकहरुको विषयमा अभिव्यक्ति दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोनाभाइरसका कारण श्रमिक वर्ग अझ समस्यामा परेको बताएका छन् । 

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएका यी दुई वर्षमा श्रमिकको वर्गमा धेरै उपलब्धि भएको बताएका छन् । ‘यी दुई वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि बैंकमा पारिश्रमिक दिने कामसमेत भएको थियो,’ उनले भने, ‘अहिले कोरोनाभाइरसका कारण समस्या आएको छ र सरकारले यो महामारीविरुद्ध लड्ने प्रयास गरिरहेको छ ।’

उनले नेपालमा कोरोनाभाइरसका कारण कुनै मानवीय क्षति नहुनु गर्व गर्न लायक भएको पनि बताएका छन् । उनले यो वर्ष श्रमजीवीको न्यूनतम पारिश्रमिक पुनर्निधारण गर्नु पर्ने समय भए पनि कोरोनाभाइरसका कारण यसले मारमा पारेको उनले बताएका छन् । नेपालको जिडिपीको झन्डै ४ प्रतिशत यसका कारण असर परेको पनि उनले बताएका छन् ।

उनले यी सबै समस्या भए पनि यो सरकारले सबै स्रोत र साधनले भ्याएसम्मका प्रयास गर्ने बताएका छन् ।



प्रधानमन्त्री ओलीले यसपटकको सम्बोधनमा पनि मिडियामाथि आफ्नो आक्रोश पोख्न छुटाएका छैनन् । ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो,’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन् । 

प्रधानमन्त्रीले थपेका छन्, ‘आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’



उनले अब राहत सुविधाभन्दा पनि पहिलो लक्ष्य सबैलाई काम हुने बताएका छन् । काममा भएकाहरुलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

उनले ट्रेड युनियन एकताको अनुपम उदाहरण भएको पनि बताएका छन् ।

‘आजको अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नु पर्छ, युनियनजस्तै । हामीले आफ्ना आकांक्षाको आकाशतिर माथिमाथि मात्र होइन, जनता भएतिर तल पनि हेर्नुपर्छ, युनियनले भने जस्तै,’ ओलीले भनेका छन्, ‘कमीकमजोरी भए सच्याउनु पर्छ । तर, अराजक होइन- अनुशासित हुनुपर्छ । समयको ख्याल गर्नुपर्छ । आफैंलाई घात गर्ने होइन- इमान्दार बन्नुपर्छ, युनियनले भनेजस्तै ।’

  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार ९:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया