प्रधानमन्त्रीको राजीनामाबारे नेकपाको असन्तुष्ट पक्ष आक्रामक, तर प्रतिपक्षी कांग्रेस किन मौन ?

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गर्नुपर्ने विषयमा सत्तारूढ नेकपाका असन्तुष्ठ पक्षका नेताहरु आक्रामक रुपमा प्रस्तुत भइरहँदा प्रतिपक्षी दल नेपाली कांग्रेस भने यो विषयमा मौनजस्तै छ । 

बुधबार एकै समयमा चलेका नेकपा स्थायी कमिटी बैठक र कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा पनि समान थियो । तर, नेकपा बैठकमा आफ्नो राजीनामा मागिएपछि स्वयं प्रधानमन्त्रीले आफू कोरेना संकटपछि राजीनामा गरेर वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउन राजी रहेको बताए । भलै उनको प्रस्ताव रणनीतिक थियो भन्नेमा कोही अनभिज्ञ छैन । 

यता, कांग्रेस बैठकमा पनि प्रधानमन्त्री ओलीकै भूमिका र उनले निम्त्याएका पछिल्ला घटनाक्रममाथि छलफल त भयो, तर उनको राजीनामाबारे बैठक मौन रह्यो । यतिसमम कि कांग्रेसको बैठकमा प्रधानमन्त्रीको राजीनामाको विषय उल्लेख गर्ने कि नगर्ने भन्नेमा लामो विवाद भयो । 

कांग्रेस बैठकले सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचनमार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेकले नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर गर्यो । तर, उनले ‘राजीनामा’ गर्नुपर्ने भनेर प्रस्ट शब्दमा भन्न सकेन ।

यसको प्रमुख कारण अरु कोही नभएर स्वयं पार्टी सभापति शेरबहादुर देउवाको भूमिका आश्चर्यजनक रह्यो । उनले केन्द्रीय सदस्यहरूले उठाएको विषयमा केही बोलेनन् । सबैको धारण सुनिसकेपछि देउवाले बैठक समापन गर्दै ‘धन्यवाद’ मात्रै भने ।

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भनेर सत्तारूढ दलभित्र आक्रामक रुपमा आवाज उठिरहँदा देउवाको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापतिको मौनताले प्रतिपक्ष कहाँ छ भन्ने अन्योल खडा गरेको बताएका छन् ।



बैठकमा बोल्दै पौडेलल आफू विकल्प नहुँदा लोकतान्त्रिक मूल्यमान्यता र मर्ममाथि निरन्तर प्रहार हुँदा पनि नरम बसेकोमा आक्रोश व्यक्त गरेका थिए । संविधानमाथि कार्यकारी प्रमुखबाट एकपछि अर्को प्रहार हुँदा पनि कांग्रेस आक्रामक बन्न नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले प्रधानमन्त्रीको राजीनामाको विषयलाई आक्रामक रूपमा उठाउनुपर्नेमा जोड दिएका थिए ।



  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १०:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया