प्रधानमन्त्री होइन, वामदेव गौतम यही सरकारमा मन्त्री हुन पनि तयार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा जारी पछिल्लो विवादमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई व्यवस्थापन र आफ्नो पक्षमा ल्याउन सफल भएमा आफू बलियो भइरहने अनुमान गरेर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले फालेको ‘तुरुप’ले काम गर्ने देखिएको छ । किनकि अब वामदेव गौतमले प्रधानमन्त्री ओलीका कुराहरु सुन्न थालेका छन् । 

बालुवाटारमा यही विषयमा अहिले बसिरहेको नेकपा सचिवालय बैठकमा छलफल सुरु भएको छ ।

आज बस्ने सचिवालय बैठकअगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमसँग लामो परामर्श गरेका थिए । यही परामर्शमा उनले गौतमलाई अहिलेकै सरकारमा उपप्रधानमन्त्री तथा जिम्मेवार मन्त्रालयको नेतृत्व दिने बताएका छन् ।

‘त्यो प्रस्तावमा गौतम कमरेड पनि सकारात्मक हुनु भएको छ,’ प्रधानमन्त्री ओलीनिकट एक नेताले भने, ‘आज बसिरहेको सचिवालय बैठकमा यस विषयमा पनि सायद चर्चा हुन्छ होला र पछिल्लो विवाद साम्य पनि हुन्छ होला ।’

यसअघि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए । उनले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा पनि प्रस्ताव गरेका थिए । 

‘उहाँले त्यो प्रस्ताव अस्वीकार नै गर्नुभएको होइन,’ ती नेताले फरकधारसँग भने, ‘यसमा पनि आज नै छलफल हुने छ । सायद अब माधव कमरेड तेस्रो अध्यक्ष र वामदेव गौतम मन्त्री भएर आउनु हुनेछ । उहाँहरु दुई जनाले मात्र होइन, सचिवालयका अन्य सदस्यले पनि यसमा सहमती जनाउने सम्भावना बढी छ ।’



स्रोतका अनुसार गौतमलाई अब राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभामा ल्याइने छ । अहिलेको अर्थ तथा सूचना तथा सन्चारमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पदको अवधी सकिएकाले उनको ठाउँमा गौतमलाई ल्याउने तयारी भएको छ ।

‘अहिले संविधान संशोधन गर्दा गलत सन्देश जाने र उहाँले निर्वाचनमा उठ्दा पनि समस्या हुनसक्ने सम्भावना देखेर यो प्रस्तावलाई स्वीकार गर्नु भएको हुनसक्छ,’ ती नेताले भनेका छन् ।
 



 

  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार १८:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया