हुनसक्छ, केही समयअघिसम्म तपाईंले उनको नाम पनि सुन्नु भएको थिएन । यो पनि हुनसक्छ, अझै पनि तपाईंले उनको नाम सुन्नु भएको छैन ।
तर, पछिल्लो समय नेपालमा पनि अनलाइन कक्षाहरु सुरु गर्ने चर्चा चल्न थालेको छ । त्यसका लागि विद्यालयहरुले जुम एप डाउनलोड गर्न अभिभावकलाई भनिरहेका छन् ।
यो यही एप हो जसमा भिडियो कन्फ्रेन्स गर्न मिल्छ, अनलाइन बढ्न मिल्छ । वा साथीहरुसँग सहजै कुराकानी गर्न मिल्छ ।
विश्वभर कोरोना कहरका कारण लकडाउन हुँदा र मानिसहरु बाहिर निस्किन नपाउँदा अब यही जुम एपका संस्थापक एरिक युआन अर्बपति भएका छन्, उनलाई फोब्र्स पत्रिकाले आफ्नो अर्बपतिको सूचीमा समेटेको छ ।
अब उनको सम्पत्ति ७.८ अर्ब अमेरिकी डलर भएको फोर्ब्स पत्रिकाले जनाएको छ ।
माइनिङ इन्जिनियरका छोरा एरिक खासमा चीनमा जन्मिएका हुन् । त्यहाँ इन्जिनियरिङको पढाइ सकेर जापानमा चार वर्ष जागिर गरेका उनी त्यहाँबाट अमेरिका पुगेका थिए ।
एरिकको जीवन अहिले अर्बपतिको सूचीमा आउन त्यति सहज चाहिँ थिएन । उनी बिल गेट्ससँग प्रभावित भएका थिए, सबैभन्दा धनी देश अमेरिकामा आफू जान चाहेको बताउँथे ।
सन् १९९० को दशकमा क्यालिफोर्नियामा फुलेको प्रविधिसँग सम्बन्धित कम्पनीहरुमा उनी आफूलाई पनि समावेश गराउन चाहन्थे । तर, अमेरिकाले उनको आठ पटकसम्म भिसा रद्द गरिदिएको थियो । तैपनि उनले हार मानेनन् । सन् १९९७ मा २७ वर्षको उमेरमा अमेरिका उडेरै छाडे एरिक । अनि त्यहाँ सिलिकन भ्यालीमा आफ्नो नयाँ यात्रा सुरु गर्न कस्सिए ।
त्यहाँ उनले इन्जिनियरका रुपमा काम पाए ।
सन् २०११ मा उनले सिस्कोका एक अधिकारीलाई एउटा यस्तो भिडियो कन्फ्रेन्सिङ एप डाउनलोड गर्ने सुझाव दिए, जसले डेस्कटपमा मात्र होइन, मोबाइलमा पनि काम गरोस् । तर, सिस्कोले यसलाई खारेज गरिदियो ।
एरिकको मनमा यो कुरा आइसकेको थियो । त्यसैले उनले आफ्नो बिजनेस सुरु गर्ने भए, जुम सुरु गर्नका लागि कम्पनीबाट राजीनामा दिए ।
खासमा उनले जुमको कल्पना चाहिँ आफ्नी गर्लफ्रेन्डसँग भेट्नका लागि १० घन्टाको रेल समात्नु पर्ने भएकाले कल्पना गरेका थिए । ‘म चीनमा पढ्थेँ,’ उनले भनेका छन्, ‘त्यहाँ गर्लफ्रेन्ड भेट्न मलाई कम्तिमा पनि दस घन्टा रेलमा चढ्नु पथ्र्यो । अब त उनी मेरी पत्नी भएकी छिन् ।’
तर, यस्तो यात्रा एरिकलाई मनै पर्दैनथ्यो ।
अनि उनले यही एपको कल्पना गरे जसले उनले चाहेको समयमा नै आफ्नी गर्लफ्रेन्ड भेटाउँथ्यो ।
त्यही सपनालाई लिएर बनाएको जुम एप अब अहिले विश्वले प्रयोग गरिरहेको छ, यसबाट मिटिङहरु भएका छन्, मानिसहरुले अनलाइन कक्षासमेत लिएका छन् ।
पछिल्लो समय रजिस्टर गर्न नपर्ने र ४० मिनेटसम्म १०० जना एकैपटक जोडिन सक्ने भएकाले जुम एपको लोकप्रियता बढेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।