२४ घन्टायता नेपालमा थपिएनन् काेराेनाभाइरस संक्रमित, उपचाररत ४३ काे कस्ताे छ अवस्था ?

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले शनिबार २४ घण्टायता कोभिड–१९ का संक्रमित नथपिएको जनाएको छ । मुलुकमा हालसम्म संक्रमण पुष्टि भएका ५९ जनामध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत ४३ जनाको पनि स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विराटनगरमा ३१, वीरगन्जमा ८, रूपन्देहीमा १, नेपालगन्जमा १, धनगढीमा १ र भरतपुरमा १ जना संक्रमितको उपचार भइरहेको छ ।

पीसीआर पद्घतिबाट शनिबार ५ सय २१ वटा नमुनाको परीक्षण गरिएको छ । पीसीआरबाट हालसम्म १३ हजार ९८ नमुनाको परीक्षण भइसकेको छ । विराटनगरको कोसी अस्पतालसँगै रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा समेत सुरु भएसँगै मुलुकमा पीसीआर परीक्षण हुने स्थानको संख्या १७ पुगेको छ ।

द्रुत परीक्षण (आरडीटी) किटबाट शनिबार ७ सय ३२ नमुनाको परीक्षण गरिएको छ । आरडीटी किटबाट ४८ हजार ५ सय २९ नमुनाको परीक्षण भइसकेको छ ।

हाल मुलुकभरमा २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा छन् । प्रदेश १ मा २ हजार ८ सय ६५, प्रदेश २ मा १ हजार ३ सय ९१, वाग्मतीमा ५ सय ११, गण्डकीमा ६ सय ३२, प्रदेश ५ मा ११ हजार ३ सय ४, कर्णालीमा ३ हजार २ सय ७५ र सुदूरपश्चिममा ३ हजार जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकामा ४ जना र उपत्यकाबाहिर ८५ जना आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोइकाले धुलिखेल, नुवाकोट, टीकापुर र नेपाल–कोरिया मैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आईआर थर्मोमिटर ५०, पीपीई ७ सय ९०, केएन–९५ मास्क ४ हजार ६ सय ९०, सर्जिकल मास्क २ हजार १ सय ८५, पन्जा ४ हजार ४ सय, सेनिटाइजर ६ हजार थान कोइकाले सहयोग गरेको हो ।





  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २३:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया