सामसुम हुँदै नेकपा विवादः के ओलीले जितेका हुन् ?

८ वैशाख २०७७ । विश्व कोरोनाभाइरस महामारीविरुद्ध लडिरहेको थियो । नेपालमा पनि ४० जनाभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिइसकेका थिए । 

त्यही दिन दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यो समयमा कल्पना गर्न नसकिने दुई अध्यादेश पारित ग¥यो– पार्टी फुटाउन खुकुलो हुने अध्यादेश र संवैधानिक परिषद् नियुक्तिमा विपक्षी दलका नेताको सहमति नै नचाहिने । 

त्यही साँझ कुनै द्रुत गतिको मेट्रो रेलको स्पिडमा जस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले यी दुवै अध्यादेशलाई जारी गरिदिइन् । 

अनि त्यही साँझ सुरु भयो, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद पनि । साँझ बसेको सचिवालय बैठक कुनै निष्कर्षविना टुङ्गियो । 

तर, यसले ल्याएका परकम्पहरु कम थिएनन् । कतिसम्म भने केही नेताहरुले यसलाई आफ्नै पार्टी फुटाउन ल्याइएको अध्यादेश हुनसक्ने अनुमान गर्न थाले । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निकै ठूलो आवाज उठ्यो, उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने सम्मका माग हुन थाले । 

समयक्रममा यो पार्टीमा दुई नेता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिए । उनीहरुलाई झलनाथ खनाल, वामदेव गौतमलगायतले पनि साथ दिन थाले । 



अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अर्को समस्यामा पर्न थाले, उनी सचिवालयमा एक्लिए । संसदीय दलमा पनि दुई पक्षले बहुमत पुर्याउने खेल सुरु गरे, सांसदहरुको हस्ताक्षरसम्म सुरु गरे । प्रचण्ड, नेपाल तथा गौतमले ओलीको राजीनामा माग गर्न थाले, स्थायी समितिको बैठक बोलाउनु पर्ने माग राख्न थालियो । ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव लैजानेसम्म खेल हुन थाले ।

बुधबार फेरि अर्को नेकपा सचिवालय बैठक बस्यो । यो बैठकमा नेताहरुबीच गर्मागर्मी भयो । यो बैठक पनि यसै टुङ्गियो, शनिबार फेरि बैठक बस्ने निर्णय निकालेर । 



शनिबारको नेकपाको सचिवालय बैठकलाई वार कि पारको बैठक भनिएको थियो । 

तर, यही बैठकले नेकपामा पछिल्लो समय जुन दुर्घटना हुनसक्छ भन्ने अनुमान गरिएको थियो, त्यसलाई फेल खुवाइदिएको छ । यो बैठकपछि नेकपामा पछिल्लो समय भएको विवाद साम्य हुनसक्ने अनुमान गरिएको छ । खैर, नेपाल समूहले यो बैठकमाथि पनि आशंका गरेको छ, नेपाल पक्षले यसबारे आवाज उठाउने सम्भावना कायम नै छ ।

अचानक गम्भीर देखिएको यो विवाद नेकपामा कसरी साम्य हुन आयो त ? के यसमा ओलीले जितेका हुन् ?

यी दुई प्रश्नको उत्तरका लागि केही घटनाक्रमहरुलाई सरसर्ती हेरौँ । 

जस्तो कि, गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रस्ताव गरिदिए– माधव नेपाललाई पनि नेकपा अध्यक्ष बनाउने र आफूले कोरोनाभाइरस महामारीको अन्त्यपछि राजीनामा दिएर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने । 

यो खासमा ओलीको एउटा रणनीति थियो । अनि उनी यो रणनीतिमा किन पुगेका थिए भने संसदीय दलमा आफू अल्पमतमा रहेको उनले बुझिसकेका थिए । 

‘बालुवाटारमा सांसदहरुलाई बोलाएर हस्ताक्षर गर्न थालिएको थियो,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘तर, प्रतिनिधिसभामा कुनै हालतमा पनि आफ्नो पक्षमा बहुमत नपुग्ने निष्कर्ष केपी ओलीले देखे । त्यसपछि उनी आफ्नो कदमलाई एक कदम पछाडि लैजान बाध्य भएका हुन् । त्यही भएर उनले गौतमलाई प्रयोग गरे ।’

गौतम खासमा नेकपामा बलियो हुन थालेको केहीअघिबाट नै हो । नेकपा सचिवालयमा रामबहादुर थापा बादल ओलीको समर्थनमा लाग्न थालेपछि सचिवालयमा अधिकांश सदस्य आफ्नो पक्षमा पार्न गौतम निर्णायक फ्याक्टर भएका हुन् । 

‘यसलाई राम्रोसँग बुझेका ओलीले यसपटक राम्रो कार्ड खेले,’ सांसदसमेत रहेका नेकपाका ती सदस्यले भने, ‘वामदेव गौतम यसमा आश्वस्त हुन सके ।’ गौतमलाई यही आश्वस्त बनाउनका लागि ओलीले शनिबार दिउँसो नै बालुवाटारमा बोलाएका थिए । लामो समय गौतमसँग छलफल गरेका ओलीले बालुवाटारमा सचिवालय बैठक बस्नुअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि कम्तिमा पनि ४० मिनेट कुराकानी गरे । 

शनिबार नै प्रधानमन्त्री ओली शीतल निवासमा पुगे । त्यहाँबाट पनि उनले पार्टी राजनीतिमा प्रभावकारी भूमिका खेल्न आफ्नो उपस्थिति देखाउँदै आएको यसअघि पनि आरोप लाग्दै आएको छ ।

यी सबै सिक्वेन्सका कारण शनिबार साँझ बसेको सचिवालय बैठकमा उनले बाजी मारे ।

तर, यो बाजी मार्नुपूर्व उनको अर्को कुशल व्यवस्थापन पनि देखियो । यो हो, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बसाइलाई आफ्नो जस्तै बनाएर प्रस्तुत गरिदिनु ।

झट्ट सुन्दा विश्वास नलाग्न सक्छ, तर सचिवालय बैठकमा कहाँ र कसरी बसिएको छ भन्नेमा पार्टी अध्यक्ष प्रचण्डले यसअघिको सचिवालय बैठकमा गुनासो गरेका थिए । ‘हामी दुई अध्यक्ष हौँ तर यहाँ तपाईंमात्रै अध्यक्षता गरेको जस्तो हुन्छ,’ प्रचण्डले यसअघिको सचिवालय बैठकमा भनेको दाबी ओलीनिकट एक नेताले गरेका छन्, ‘पार्टीमा तपाईंले अरु कसैलाई पनि महत्व दिनुभएन, आफू भए सब चल्छ भन्ने सोच्न छोड्नु पर्यो ।’

सायद, प्रचण्डको यही गुनासोमाथि ओलीले शनिबार भएको अलग्गै भेटमा पनि छलफल गरेका थिए । 

ओलीसँगैको सिटमा बस्न पाएपछि आफूलाई ‘कार्यकारी अध्यक्ष’को फिल भएकाले हुनुपर्छ, शनिबारको बैठकमा सुरुमा ओलीले मिलेर जानुपर्छ भनेपछि प्रचण्डले पनि त्यसलाई नै दोहो¥याए । 

ओली र प्रचण्ड नै एउटा निष्कर्षमा पुगेपछि सचिवालयका अरु सदस्यहरुले खासै धेरै बोलेनन् । त्यसमा पनि गौतम आफू प्रतिनिधिसभामा आउने कुरा आएपछि नै गमक्क परिसकेका थिए ।

यो सब व्यवस्थापन गरेर के ओलीले यसपटकको विवादमा बाजी मारेका हुन् त ? 

‘यो सरासर उहाँको जित हो,’ उनीनिकट एक नेताले शनिबार अबेर राति फरकधारसँग भने, ‘तर, पार्टीको भविष्यका लागि जित र हारको कुरा पनि त आउँदैन ।’

यसलाई ओलीको जितको संज्ञा दिनका लागि चाहिँ केही दिन कुर्नै पर्ने हुन्छ । उनीइतर समूहले अबको रणनीति कस्तो बनाउनेछ भन्नेमा त्यसको निर्धारण हुनेछ ।

  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार ५:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया