चीनः दुई वर्षअघि एमाले–माओवादी मिलाइदियो, अहिले वाकयुद्ध साम्य पारिदियो
प्रचण्ड निवासमा शुक्रबार चिनियाँ राजदूत हाउ यान्छी ।

अन्ततः शनिबार साँझ भएको सचिवालय बैठकसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्ला दिन शीर्ष नेताहरुबीच चलिरहेको ‘युद्ध’ साम्य हुने भएको छ । 

पार्टीमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अचानक सहमति जुटेपछि यो वाकयुद्ध साम्य भएको हो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष प्रचण्डले एक स्वरमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा माग गरेका थिए । तर, नाटकीय रुपमा प्रचण्ड र ओलीले शनिबार साँझ आफूहरु मिलेको देखाए ।

तर, के मिलन स्वभाविक हो ?

यसमा प्रश्न पनि उठेको छ । प्रश्न आमरुपमा मात्र होइन, पार्टीभित्रै नेपाल समूहले पनि यो प्रश्नलाई अब उजागर गर्न थालेको छ । सचिवालय बैठकमा नै वरिष्ठ नेता नेपालले ओली र प्रचण्डको यो सहमतिलाई आशंकाका साथ हेरेर यी दुई नेताको चोचोमोचो स्वीकार्य नहुने बताएका थिए । 

आखिर किन अचानक शनिबार यी दुई नेताको मिलन सम्भव भयो त ? 

यसमा केहीअघि देखि भएको हाम्रो उत्तरी छिमेकीको सक्रियतालाई भुल्न हुँदैन । केही दिनअघि उत्तरी छिमेकी चीनका समकक्षी सी जिनपिङसँग राष्ट्रपति विद्यादेवी भण्डारीको टेलिफोन सम्पर्क भएको थियो । लगत्तै नेपालमा चिनियाँ राजदूत हाउ यान्छीको सक्रियता पनि बढ्न थाल्यो । उनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । 



अनि शुक्रबार दिनभर उनी राजनीतिक भेटघाटमा व्यस्त भइन् । शुक्रबार उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न नेपाल निवास नै पुगिन् । योसँगै चिनियाँ राजदूतको यो सक्रियताबारे नेपाली कांग्रेसका केही नेताले प्रश्न पनि उठाएका छन् । 

‘अचानक यसरी दुई नेताको एक स्वर हुनु र चिनियाँ सक्रियता बढ्नुले प्रश्न उठ्नु स्वभाविक हो,’ नेकपाकै नेपालनिकट एक नेता भन्छन्, ‘तर, चिनियाँ राजदूतको सक्रियताका कारण मात्र यस्तो भएको नहुन सक्छ ।’



त्यसो त, २ वर्षअघि तत्कालीन एमाले र माओवादीको एकीकरणमा पनि चीनको विशेष भूमिका रहेको बताउँदै आइएको थियो । यी दुई पार्टी एकता भएको केही समयमा नै चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि नेपाल आएर विशेष कार्यक्रम पनि भएको थियो । नेकपाले सी विचारधारमाथि पनि कार्यक्रम चलाएको थियो । 

त्यसैले सोमबार साँझ राष्ट्रपति निवास पुगेकी होउ यान्छी यसपटक नेकपामा विवाद आउँदा प्रत्येक शीर्ष नेताकहाँ पुग्न भ्याइन् । 

पछिल्लो समय नेपालमा चिनियाँ सक्रियता निकै बढ्न थालेको छ । यसको प्रमाणका रुपमा होउका पछिल्ला गतिविधिलाई प्रमाणका रुपमा लिन सकिन्छ । 
 

 

  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार ३:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया